विराटनगर, साउन ४ — मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकहरूले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्ने विषयलाई लिएर शिक्षकविरुद्ध प्रदर्शन गराउने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अनुसन्धानका क्रममा संलग्न देखिएका सुन्दरहरैचा–१० निवासी ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैचा–२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार तथा सुन्दरहरैचा–१२ निवासी ३५ वर्षीय अबिरल मास्केलाई आइतबार बिहान १० बजे नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाउँदै अनुसन्धानपछि अन्य व्यक्तिहरू पनि संलग्न रहेको पुष्टि भएमा कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
यसैबीच प्रहरीले घटनासम्बन्धी अपुष्ट वा भ्रामक सूचना सामाजिक सञ्जालमार्फत नफैलाउन तथा अनावश्यक टिप्पणी नगर्न सबैसँग आग्रह गरेको छ।




