विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि विद्यालयका शिक्षक तथा कर्मचारीले दुर्व्यवहार गरेको भन्ने घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाको अनुसन्धानपछि यसअघि नियन्त्रणमा लिइएका तीन जनासँगै थप एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। पक्राउ पर्नेहरूमा सुन्दरहरैचा–१० निवासी ४० वर्षीय प्रदीप भट्टराई (सवारी चालक), सुन्दरहरैचा–२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार (विज्ञान विषयका शिक्षक), सुन्दरहरैचा–१२ निवासी ३५ वर्षीय अविरल मास्के (लेखापाल) र झापाको बुद्धशान्ति गाउँपालिका–७ निवासी ३९ वर्षीय भीमप्रसाद नेपाल (नित्य प्रशिक्षक) रहेका छन्।
प्रहरीका अनुसार प्रदीप भट्टराई, किशोरलाल गच्छदार र अविरल मास्केलाई साउन ४ गते बिहान १० बजे नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा घटनामा भीमप्रसाद नेपालको समेत संलग्नता खुलेपछि उनलाई साउन ५ गते पक्राउ गरिएको हो।
चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालत, विराटनगरबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।




