एक वर्षमा २ हजार ४१० केजी तस्करीको भारतीय माछा नष्ट

सत्यनारायण शर्मा

विराटनगर । आर्थिक वर्ष २०८२/०८३ मा विराटनगरस्थित पशु क्वारेन्टिन कार्यालयले भारतबाट चोरी–तस्करी गरी नेपाल भित्र्याइएका ठूलो परिमाणका खाद्यजन्य वस्तु तथा पशुजन्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ।

कार्यालयका प्रमुख विदुर प्रसाद गौतमका अनुसार एक वर्षको अवधिमा २ हजार ४१० केजी भारतीय माछा खान अयोग्य ठहर भएपछि नष्ट गरिएको छ। त्यसैगरी ७ सय केजी सिध्रा माछा, १२४ क्रेट सेतो अण्डा, १६५ केजी काँचो मासु तथा ६५ केजी बाख्राको काँचो छाला पनि नष्ट गरिएको छ।

यस अवधिमा तस्करी गरी ल्याइएका ४६ वटा गाई, गोरु र बाछा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएपछि पशु क्वारेन्टिन कार्यालयले स्वास्थ्य परीक्षण गरी सिरहा र भन्टाबारीमा लिलामी गरेको जनाएको छ। त्यस्तै १७६ वटा सुँगुर, ८ वटा भैँसी/पाडा र २८ वटा खसीको समेत स्वास्थ्य परीक्षण गरी लिलामी गरिएको कार्यालयले जनाएको छ।

त्यसैगरी कार्यालयले १ हजार ४४२ वटा ब्रोइलर कुखुरा (जम्मा १ हजार ९९९ केजी) तथा १२ वटा लोकल कुखुरा पनि नष्ट गरेको कार्यालय प्रमुख गौतमले जानकारी दिए।

कार्यालय प्रमुख गौतमका अनुसार आफूले १६ वटा जिल्लाको जिम्मेवारी सम्हाल्दै आएको भए पनि आवश्यक जनशक्ति, प्रविधि तथा उपकरणको अभावका कारण काम गर्न कठिनाइ भइरहेको छ। पर्याप्त प्रयोगशाला (ल्याब) नहुँदा नमुना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।

उनका अनुसार विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा रहेको पशु क्वारेन्टिन कार्यालयमा अधिकृतको अभाव छ। भन्टाबारी कार्यालयका अधिकृत अध्ययन बिदामा रहेका छन् भने सिरहा कार्यालयमा पनि अधिकृत लामो समयदेखि बिदामा रहेकाले दैनिक प्रशासनिक तथा प्राविधिक कामकाज सञ्चालन गर्न समस्या भइरहेको उनले दुःखेसो पोखे।

कार्यालय प्रमुख गौतमका अनुसार चालु आर्थिक वर्षमा सरकारले विराटनगरमा पशु क्वारेन्टिन कार्यालयको तीनतले भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। करिब ४ करोड ९० लाख रुपैयाँ लागतको भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने पुरानो भवन भत्काउने कार्यसमेत जारी रहेको उनले जानकारी दिए।