रंगेलीमा १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ


दुई मोटरसाइकलसमेत नियन्त्रणमा, घटनाबारे थप अनुसन्धान जारी

सत्यनारायण शर्मा

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ बसपार्क क्षेत्रमा १०१ ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार (साउन ६ गते) विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले हुलाकी सडक छेउमा शंकास्पद रूपमा रोकी राखिएका दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, सिक्टी थाना, बौकाहा मझरा निवासी २८ वर्षीय मोहम्मद मुन्ना र सोही स्थानका २५ वर्षीय मोहम्मद मकुल रहेका छन्।

प्रहरीले चेकजाँचका क्रममा मोहम्मद मकुलको साथबाट १०१ ग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित दुवै मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।