विराटनगरमा कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ


प्रहरीको खानतलासीमा पेस्तोल, खैरो हेरोइन र गाँजा बरामद, थप अनुसन्धान जारी

सत्यनारायण शर्मा

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट एक थान कटुवा पेस्तोल तथा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब १२ः१० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरस्थित प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर–१८ झटियाही बुधनगर निवासी ५९ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, ३ ग्राम ७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

बरामद हतियार र लागूऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर हतियार तथा लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार अवैध हतियार तथा लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिइएको छ।