
सत्यनारायण शर्मा
भारतसँग सीमा जोडिएको विराटनगर–जोगबनी नाका पूर्वी नेपालको प्रमुख प्रवेशद्वार हो । यही नाकाबाट आर्थिक वर्ष २०८२÷८३ मा मात्र ८० हजार ७११ भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन् ।
उनीहरूबाट पर्यटक सवारी स्टिकरमार्फत ९४ लाख १५ हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ । यो तथ्यांकले भारतीय पर्यटक नेपालको पर्यटन, व्यापार र स्थानीय अर्थतन्त्रका लागि कति महत्वपूर्ण छन् भन्ने स्पष्ट देखाउँछ । नेपाल प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, सांस्कृतिक विविधता र शान्तिपूर्ण वातावरणका कारण भारतीय पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
पशुपतिनाथ, जनकपुर, लुम्बिनी, मनकामना, मुक्तिनाथलगायत धार्मिक स्थलदेखि पहाड, हिमाल र हरियालीले भरिएको वातावरणले हरेक वर्ष लाखौं भारतीय नागरिकलाई नेपाल आउन प्रेरित गर्ने गरेको छ । नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धले पनि दुई देशका नागरिकबीचको आवतजावतलाई सहज बनाएको छ ।
पर्यटकको आगमनले होटल, रेष्टुरेन्ट, यातायात, व्यापार, हस्तकला तथा अन्य सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि बढाउँछ । त्यसैले पर्यटकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण उपलब्ध गराउनु राज्यका सबै निकायको साझा दायित्व हो । तर पछिल्ला केही समयदेखि सीमा नाकामा भारतीय पर्यटकले अनावश्यक झन्झट, अपमानजनक व्यवहार वा जरिवाना प्रक्रियामा असहजता भोग्नुपरेको भन्ने गुनासो बेलाबेलामा सुनिन थालेको छ । यदि यस्ता गुनासाहरू सत्य हुन् भने सम्बन्धित निकायले त्यसको निष्पक्ष छानबिन गरी आवश्यक सुधार गर्नुपर्छ । कानुन कार्यान्वयनका क्रममा सबै नागरिक र पर्यटकप्रति समान, शिष्ट र पारदर्शी व्यवहार हुनु लोकतान्त्रिक प्रशासनको आधारभूत दायित्व हो ।
जरिवाना वा कारबाही गर्नुपर्ने अवस्था आएमा त्यसको स्पष्ट कानुनी आधार, आधिकारिक रसिद र पारदर्शी प्रक्रिया अनिवार्य हुनुपर्छ । कुनै पनि व्यक्तिलाई अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्ने वा कानुनबाहिर गएर रकम असुल्ने कार्य भएमा त्यसले नेपाल प्रहरी, ट्राफिक प्रहरी, भन्सार प्रशासन तथा समग्र राज्य संयन्त्रप्रतिको विश्वासमा नकारात्मक असर पार्न सक्छ । यस्ता आरोपहरूको सम्बन्धित निकायले गम्भीरतापूर्वक अनुसन्धान गरी आवश्यक सुधार र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ । नेपालको पर्यटन उद्योग ठूलो सम्भावना बोकेको क्षेत्र हो ।पर्यटकले नेपालबाट राम्रो अनुभव लिएर फर्किए भने उनीहरू स्वयं नेपालको पर्यटनका दूत बन्छन् ।
तर सीमा नाकामै नकारात्मक अनुभव भयो भने त्यसले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पर्न सक्छ । राजस्व संकलन गर्नु राज्यको अधिकार र दायित्व हो । तर राजस्व संकलनको नाममा पर्यटकलाई असहज महसुस गराउने होइन, कानुनी प्रक्रिया सरल, पारदर्शी र सेवामुखी बनाउनु आवश्यक छ । सम्बन्धित निकायले सेवा प्रवाहमा सुधार, कर्मचारीको आचरणमा व्यावसायिकता र पर्यटकमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्छ । भारतीय पर्यटक नेपालको अर्थतन्त्रका महत्वपूर्ण साझेदार हुन् । उनीहरूको सम्मान, सुरक्षा र सहज यात्राको सुनिश्चिततासँगै कानुनको निष्पक्ष कार्यान्वयन गर्न सकियो भने नेपालको पर्यटन क्षेत्र अझ सुदृढ बन्नेछ र सीमा नाकाप्रतिको विश्वास पनि थप मजबुत हुनेछ ।




