सत्यनारायण शर्मा 
विराटनगर। विराटनगर भन्सार कार्यालयको एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा रहेको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ८ हजार ९४३ वटा खाद्यवस्तुको नमुना (सेम्पल) परीक्षण गरेको जनाएको छ।
कार्यालय प्रमुख घननाथ अधिकारीका अनुसार भारत, तेस्रो मुलुक तथा नेपालबाट आयात–निर्यात हुने खाद्यवस्तुको प्रयोगशालामा गुणस्तर तथा विषादी परीक्षण गरी प्रमाणपत्र जारी भएपछि मात्र ती वस्तु भन्सारबाट निकासी वा पैठारी गर्न अनुमति दिइन्छ।
कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा दूध तथा दुग्धजन्य पदार्थका ५४ वटा नमुना परीक्षण गरी २५ मेट्रिक टन आयात भएको छ। त्यसैगरी खाने तेल तथा घिउका १ हजार ९२ वटा नमुना परीक्षणपछि ३ लाख ६४ हजार ९२१ मेट्रिक टन आयात भएको छ।
फलफूल तथा सागसब्जीका २६१ वटा नमुना परीक्षण गरी २ करोड २ लाख ३० हजार १३४ मेट्रिक टन आयात भएको कार्यालयले जनाएको छ। मसलाजन्य पदार्थका ४३८ वटा नमुना परीक्षणपछि २ हजार ३२९ मेट्रिक टन आयात भएको छ।
यस्तै, चिया, कफी तथा कोकोजन्य पदार्थका ३२ वटा नमुना परीक्षणपछि ६८ मेट्रिक टन आयात–निर्यात भएको छ भने नुनका २६ वटा नमुना परीक्षण गरी ४९ हजार २ मेट्रिक टन आयात भएको छ।
खाद्यान्न, दलहन तथा सोबाट बनेका पदार्थका ३८५ वटा नमुना परीक्षण गरी ६ हजार ८२ मेट्रिक टन आयात भएको छ भने गुलिया पदार्थका ९१ वटा नमुना परीक्षणपछि ६ हजार ११९ मेट्रिक टन आयात भएको प्रमुख अधिकारीले जानकारी दिए।
सबैभन्दा बढी ताजा तरकारी तथा फलफूलका ४ हजार ७९४ वटा नमुना परीक्षण गरिएको छ। यस अन्तर्गत १ लाख २१ हजार ७३८ मेट्रिक टन आलु तथा हरियो तरकारी नेपाल भित्रिएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
कार्यालय प्रमुख अधिकारीका अनुसार आलुमा विषादीको मात्रा ० देखि ३५ सम्म भए खान योग्य मानिन्छ। तर कुनै लटमा विषादीको मात्रा ३५ देखि ४० सम्म देखिएमा त्यस्ता वस्तुलाई तत्काल बजारमा पठाइँदैन। त्यस्ता खाद्यवस्तु २४ घण्टासम्म भन्सारमै होल्ड गरी पुनः परीक्षण गरिन्छ। यस अवधिमा केही विषादीको मात्रा स्वाभाविक रूपमा घट्ने भएकाले अन्तिम परीक्षणपछि मात्र आवश्यक निर्णय गरिने उनले बताए।
त्यसैगरी माछा, मासु तथा मासुजन्य पदार्थका ९ वटा नमुना परीक्षणपछि ५१ मेट्रिक टन आयात भएको छ। आहारपूरक खाद्य पदार्थका ४४० वटा नमुना परीक्षण गरी ७४ मेट्रिक टन आयात भएको छ भने अन्य खाद्यवस्तुका १ हजार २३८ वटा नमुना परीक्षणपछि ४ हजार ५२७ मेट्रिक टन वस्तु आयात–निर्यात भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार विषादी परीक्षणलाई अझ प्रभावकारी बनाउँदै उपभोक्तासम्म सुरक्षित र गुणस्तरीय खाद्यवस्तु पुग्ने सुनिश्चितताका लागि नियमित रूपमा प्रयोगशाला परीक्षण र निगरानीलाई निरन्तरता दिइएको छ।




