सत्यनारायण शर्मा 
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि जिल्लामा सामाजिक सद्भाव र शान्ति कायम राख्न राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, उद्योग–व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एकै ठाउँमा उभिएका छन्।
घटनापछि उत्पन्न तनावलाई थप फैलिन नदिन सर्वपक्षीय बैठकले पाँच बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गर्दै साम्प्रदायिक सद्भाव, सामाजिक एकता र कानुनी शासनको पक्षमा दृढ रहने निर्णय गरेको हो।
प्रतिबद्धतामा कुनै पनि घटनालाई लिएर हिंसा, हुलदङ्गा वा प्रतिशोधको बाटो नअपनाई संयम, सहिष्णुता र आपसी संवादमार्फत समस्या समाधान गर्न सबैलाई आग्रह गरिएको छ। साथै सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक तथा उत्तेजनात्मक सामग्री नफैलाउन र आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
बैठकले पछिल्ला प्रदर्शनहरूमा किशोर तथा युवाहरूको सहभागिता बढेकोप्रति चिन्ता व्यक्त गर्दै अभिभावकलाई आफ्ना बालबालिकामाथि विशेष निगरानी राख्न तथा अनावश्यक रूपमा प्रदर्शन वा भिडभाडमा सहभागी हुन नदिन आग्रह गरेको छ।
संयुक्त प्रतिबद्धतामा कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
जिल्लाका प्रमुख राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योग–व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको उक्त प्रतिबद्धताले सुनसरीमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई साझा जिम्मेवारी निर्वाह गर्न आह्वान गरेको छ।




