१ हजार ३३ किलो गाँजासहित मिनी ट्रक पक्राउ, चालक नियन्त्रणमा

१ हजार ३३ किलो गाँजासहित मिनी ट्रक पक्राउ, चालक नियन्त्रणमा

विराटनगर, साउन १५ — मोरङ प्रहरीले एक हजार ३३ किलोभन्दा बढी लागूऔषध गाँजासहित मिनी ट्रक र चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेमा इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बड्डा चुनिबारीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो।

उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा ट्रकको पछाडि धानको भुसाले भरिएका बोरामुनि कालो प्लास्टिकमा प्याक गरी लुकाएर राखिएको ३१ पोकामा जम्मा १ हजार ३३ किलो ४८४ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा मिनी ट्रक चालक धनकुटाको पाख्रिबास नगरपालिका–९ हिले निवासी २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिइएको छ।

बरामद गरिएको लागूऔषध, मिनी ट्रक तथा पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।