सिटी सफारीसहित चोरीका सामान बरामद, एक जना पक्राउ

विराटनगर, साउन १६ — मोरङ प्रहरीले सिटी सफारीसहित विभिन्न चोरीका सामान बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १६ गते राति सुन्दरहरैँचा नगरपालिका–१०, हिमाल मार्ग निवासी नारायण प्रसाद थपलियाको घरमा पार्किङ गरी राखिएको प्रदेश १–०२–००४ ह ८६३९ नम्बरको हरियो रंगको सिटी सफारी तथा अन्य सामान चोरी भएको थियो।

चोरीका सामान भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१६, दरैयास्थित क्षेत्रमा खोजतलास गर्ने क्रममा उदयपुर घर भई हाल विराटनगर महानगरपालिका–४ बस्दै आएका ३२ वर्षीय मनि कुमार तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट चोरी भएको सिटी सफारी, उक्त सवारीको बिलबुक, सुनजस्तो देखिने पहेँलो धातुको एक ढिक्का, सुनजस्तो देखिने पहेँलो धातु जडान गरिएको दुई थान माला, ट्याम्बो कम्पनीको एक थान मोबाइल, दुई रुपैयाँका ३२ वटा सिक्का (रु. ६४) तथा एक रुपैयाँका ६६ वटा सिक्का (रु. ६६) बरामद गरेको जनाएको छ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रानीमा राखी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।