विराटनगर, साउन १६ — मोरङको उर्लाबारी नगरपालिका–१ स्थित जनज्योति सामुदायिक वन क्षेत्रबाट वेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १६ गते इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले कत्लेस्थित जनज्योति सामुदायिक वन क्षेत्रमा शंकास्पद अवस्थामा रहेको प्लास्टिकको बोरा फेला पारेको थियो। उक्त बोरा खोली जाँच गर्दा एक थान भरुवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने धातुको किटका १३ टुक्रा तथा ४५ ग्राम ८८० मिलिग्राम बारुद बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा सुरक्षित राखिएको छ। उक्त बन्दुक कसले र किन वन क्षेत्रमा छाडेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्रका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




