विराटनगर । मोरङको रंगेलीबाट चोरीका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रंगेली नगरपालिका–६ थाना टोलस्थित प्रमोदकुमार साहले घरअगाडि पार्किङ गरी राखेको मे १ त ३०१२ नम्बरको ट्र्याक्टरमा जडान गरिएको १०० एम्पियरको LIVGUARD ब्याट्री तथा रंगेली–७ स्थित संसारी मन्दिरभित्र कलमा जडान गरिएका SINDHU कम्पनीका १ इन्चका दुई थान मोटर चोरी भएको भन्दै प्रहरीमा मौखिक जानकारी गराइएको थियो।
जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी बेतौनाबाट खटिएको टोलीले खोजी तथा चेकजाँच गर्ने क्रममा धनपालथान गाउँपालिका–३ बेतौना चोकबाट चोरीका सामानसहित एक युवकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार रंगेली नगरपालिका–६ लव टोली बस्ने २६ वर्षीय संजय मण्डल सेतो रंगको बोरामा चोरी गरिएका सामान बोकेर हिँडिरहेको अवस्थामा फेला परेका थिए।
मण्डलको साथबाट १०० एम्पियरको LIVGUARD ब्याट्री एक थान र SINDHU नाम लेखिएको १ इन्चको मोटर दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।




