गाँजा बरामद भएको भ्यानको अस्पतालको स्टिकर उक्काएको आरोपमा एक जना पक्राउ

विराटनगर । लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानमा टाँसिएको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ को स्टिकर उक्काएको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को.१ च ६६२० नम्बरको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको मारुती भ्यान र ५० किलो २९० ग्राम गाँजा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरको परिसरमा राखिएको थियो। सोही क्रममा बाहिरबाट अनधिकृत रूपमा प्रहरी परिसरभित्र प्रवेश गरी भ्यानमा टाँसिएको अस्पतालको स्टिकर उक्काएको आरोपमा विराटनगर महानगरपालिका–१४ बस्ने २८ वर्षीय रोहित यादवलाई भदौ २२ गते पक्राउ गरिएको हो।

प्रहरीले यादवविरुद्ध सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच, भ्यान आफ्नो अस्पतालको नभएको भन्दै अस्पतालका सञ्चालक देवा यादवले पत्रकारितामार्फत प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्। उनले भ्यानमा अस्पतालको स्टिकर कसरी र किन टाँसियो भन्ने विषयमा प्रश्न उठाउँदै, प्रहरी परिसरभित्र अनुमति बिना प्रवेश गरेर स्टिकर उक्काइएको घटनाले थप आशंका जन्माएको बताएका छन्।

अस्पताल सञ्चालक यादवले आफूहरूले विगतमा उक्त भ्यानलाई अस्पतालको प्रचारप्रसारमा प्रयोग गर्दै आएको र बिरामी अस्पताल ल्याउने काममा समेत प्रयोग भएको दाबी गरेका छन्। उनका अनुसार भ्यानका चालक तथा सम्बन्धित व्यक्तिले अस्पतालसँग सहकार्य गर्दै बिरामी ल्याउने गरेको भए पनि अहिले सोही भ्यानबाट गाँजा बरामद भएपछि अस्पतालसँग सम्बन्ध नभएको दाबी गरिएको हो।

यादवले प्रहरीले गाँजा तस्करीमा संलग्न भएको अवस्थामा भ्यान नियन्त्रणमा लिएपछि आफूहरूको अस्पतालको नाम जोडिएको समाचारप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको खण्डन गरेका छन्।

अस्पताल सञ्चालकको दाबी र प्रहरीले सार्वजनिक गरेको विवरणबीच भ्यानको स्वामित्व, अस्पतालको स्टिकरको प्रयोग तथा गाँजा बरामद भएको घटनाबीचको सम्बन्धबारे भने अनुसन्धानबाट थप तथ्य खुल्ने देखिएको छ।

प्रहरीले घटनामा पक्राउ परेका यादवको संलग्नता, भ्यानमा अस्पतालको स्टिकर कसरी प्रयोग भयो र अनुसन्धानका क्रममा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।