रातोपाटी
संग्रह
सारांश
जेनजी आन्दोलनपछिको आम निर्वाचनमा मधेसकेन्द्रित दलहरू अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन् ।
धेरैजसो मधेसी दलहरू निर्वाचन परिणामले शून्यको अवस्थामा पुगेका छन् भने केही दलहरू समाप्तिको संघारमा छन् ।
मधेसी दलहरू सत्ताको गणितमा कमजोर बनेका छन् र उनीहरूलाई आफ्नो राजनीति पुनरवलोकन गर्न दबाब बढेको छ ।
काठमाडौँ । जेनजी आन्दोलनपछिको आम निर्वाचनमा नेपालका परम्परागत राजनीतिक शक्तिहरू मात्र होइनन्, मधेस विद्रोहबाट उदाएका दलहरू समेत नराम्ररी थलिएका छन् ।
एक समय मधेसको सत्ता र सडकमा एकलौटी पकड जमाएका यी दलहरू अहिले आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन् । संसदमा खुम्चिएको प्रतिनिधित्व र संगठनभित्रको बढ्दो निराशाले गर्दा मधेसी दलहरूको अवस्था ‘ढल्दै गरेको सूर्य’ जस्तै बन्न पुगेको छ ।
निर्वाचनपछिको चुनावी परिणामले मधेसका अधिकांश दललाई शून्यको अवस्थामा पुर्यायो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपाल, डा। सीके राउतको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबाहेक अन्य दलहरू कि त निस्क्रिय छन्, कि त समाप्तिको संघारमा छन् ।
नेपाल सद्भावना पार्टी इतिहास बनिसकेको छ भने राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी र वृजेशचन्द्र लालको तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रभाव लगभग शून्यमा झरेको छ ।
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालको एकतापछि पनि कार्यकर्तामा अपेक्षित उत्साह देखिएको छैन ।
तर जसपा नेपालका महासचिव डा। सुरेन्द्र झा भने पार्टी पुरानै लयमा फर्किने दाबी गर्छन् । उनी भन्छन्, ‘पार्टी एकता र अग्रगामी मोर्चाको गठनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ, हामी फेरि संगठित हुँदैछौँ ।’ सत्ताको गणितमा पनि मधेसी दलहरू निकै कमजोर बनेका छन् । विगतमा मधेस प्रदेशको सत्ताको साँचो बोक्ने यी दलहरू अहिले प्रमुख दलहरूको गठजोडले गर्दा प्रतिपक्षमा धकेलिन बाध्य छन् । अग्रगामी मोर्चाले आगामी २०८४ को निर्वाचनअघि कुनै पनि सरकारमा सहभागी नहुने अडान लिएको छ ।
यता, राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहताले आफ्नो पार्टी निस्क्रिय नभएको दाबी गर्दै नयाँ रणनीति अपनाउने तयारी भइरहेको बताएका छन् । ‘अबको राजनीति पुरानो ढर्राले चल्दैन, अध्यक्षको नेतृत्वमा सुरु हुने पदयात्राबाट प्राप्त जनसुझावका आधारमा पार्टीलाई पुनर्गठन गर्दै नयाँ ढंगले अघि बढाउने हाम्रो योजना छ,’ उनले भने ।
जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक चेतना र युवा पुस्ताको बढ्दो वितृष्णाले मधेसकेन्द्रित दलहरूलाई आफ्नो राजनीति पुनरवलोकन गर्न दबाब बढाएको छ । अबका दिनमा यी दलहरू अस्तित्व रक्षाको चुनौती पार गर्दै कसरी जनविश्वास आर्जन गर्छन्, त्यो हेर्न बाँकी नै छ ।




