विराटनगर । मोरङ कारागारको विवादित ‘बी’ ब्लकमा लामो समयपछि गरिएको खोजतलासका क्रममा ठूलो परिमाणमा नगद, मोबाइल र फलामका रड भेटिएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार गरेको सर्चका क्रममा ‘बी’ ब्लकबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद, दुई थान मोबाइल र आठ वटा फलामे रड बरामद गरेको हो। यसबाहेक बेल्चा तथा फलामका पाइपलगायतका सामग्री पनि भेटिएको प्रहरीले जनाएको छ।
विशेषगरी कारागारभित्र मोबाइल फोन लैजान प्रतिबन्ध रहे पनि दुई थान मोबाइल भेटिनुले सुरक्षा जाँच प्रणालीप्रति प्रश्न उठाएको छ। बरामद मोबाइलमध्ये एउटा ‘बी’ ब्लकको कोठा नम्बर १ बाट भेटिएको हो। उक्त कोठामा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मनिष विक बस्दै आएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा विकले सिमकार्ड प्रयोग गरी लामो समयदेखि कारागारबाहिर सम्पर्क गर्दै आएको खुलेको प्रहरीको भनाइ छ। प्रतिबन्धित मोबाइल कारागारभित्र कसरी प्रवेश गर्यो र त्यसको प्रयोगमा अरू कसैको संलग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
त्यस्तै, कोठा नम्बर १ को छेउमा रहेको कोठा नम्बर २ बाट आठ वटा फलामे रड बरामद भएको छ। उक्त कोठामा तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चञ्चल बर्मा बस्दै आएको प्रहरीले जनाएको छ।
‘बी’ ब्लक लामो समयदेखि विवादित रहँदै आएको थियो। कैदीबन्दीको एक समूहले ब्लकभित्र आफ्नो प्रभाव कायम गर्दै प्रहरी तथा जेल प्रशासनलाई प्रवेश गर्नसमेत असहज बनाउँदै आएको बताइएको छ। केही दिनअघि उक्त समूहमा रहेका ३७ जना कैदीबन्दीलाई दुई चरणमा अन्य कारागारमा स्थानान्तरण गरेपछि मात्रै प्रहरी र प्रशासनलाई ब्लकभित्र प्रवेश गरी सर्च गर्न सहज भएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कारागारभित्र नियमित रूपमा खोजतलास गर्ने गरिएको भए पनि ‘बी’ ब्लकमा केही समयदेखि उत्पन्न समस्याका कारण सर्च गर्न कठिनाइ भएको थियो।
उनले बरामद नगद, मोबाइल तथा अन्य सामग्री कसले, कहिले र कुन माध्यमबाट कारागारभित्र पुर्यायो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। अनुसन्धान पूरा भएपछि घटनाको थप तथ्य सार्वजनिक हुने प्रहरीको भनाइ छ।
३७ जना कैदीबन्दीको स्थानान्तरणपछि गरिएको पहिलो ठूलो सर्चमा नै लाखौँ रुपैयाँ नगद र प्रतिबन्धित मोबाइल भेटिनुले कारागारभित्रको सुरक्षा निगरानी कति प्रभावकारी छ भन्ने प्रश्न भने उठेको छ। हाल ‘बी’ ब्लकमा मात्रै ५२९ जना कैदीबन्दी रहेका छन्।
कारागारभित्र ठूलो रकम नगदको उपस्थितिसँगै मोबाइल र फलामे रड भेटिनुले सामान्य कैदीबन्दीको पहुँचभन्दा बाहिरको सुरक्षा कमजोरी हुन सक्ने आशंका पनि जन्माएको छ। अब प्रहरीले बरामद सामग्रीको स्वामित्व र त्यसको प्रवेशमार्ग पत्ता लगाउनुका साथै कारागारको सुरक्षा घेराभित्र कसको लापरबाही वा मिलेमतो थियो भन्ने विषयसमेत अनुसन्धान गर्नुपर्ने देखिएको छ।




