संखुवासभा । संखुवासभाको मादी नगरपालिका–४ पुरानो गाउँबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
बिना इजाजतपत्र भरुवा बन्दुक लुकाएर राखेको र प्रयोग गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले ४२ वर्षीय कुलबहादुर जिमिको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको नालसहितको भरुवा बन्दुक तीन थान फेला परेपछि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीले जिमिलाई भदौ २६ गते नियन्त्रणमा लिएको हो । उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिमि मादी नगरपालिका–४ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।




