विराटनगर । विराटनगरमा सिटी सफारीको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ। दुर्घटनापछि घाइतेलाई उपचारका लागि लगेर सडक किनारमा छाडेको आरोपमा प्रहरीले सिटी सफारी चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बिहान करिब ६ः३० बजे विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय नजिक एक पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै सीआरभी सिटीबैंक र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा विराटनगर–९ ठकुरबाडी चोकमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले ती पुरुषलाई ठक्कर दिएको खुलेको प्रहरीले जनाएको छ।
ठक्करपछि सिटी सफारी चालकले घाइतेलाई उपचारका लागि सोही सिटी सफारीमा लगेको र पछि सडक किनारमा छाडेर गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
घटनापछि चालकको खोजी गर्ने क्रममा प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट ५५ वर्षीय अर्जुन भगतलाई सिटी सफारीसहित नियन्त्रणमा लिएको छ।
भगतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी केन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।




