विराटनगर । नेपाली कांग्रेसमा समूहगत गतिविधि तीव्र भइरहेका बेला कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले सभापति गगनकुमार थापाको पक्षमा उभिने घोषणा गरेका छन्।
कांग्रेसको इतर समूहअन्तर्गत शेरबहादुर देउवा पक्षले भदौ २७ गते मोरङमा समानान्तर अधिवेशन गराउने जिम्मेवारी पराजुलीलाई दिएको थियो। तर, जिम्मेवारी पाएको केही दिनमै पराजुलीले आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्दै थापा नेतृत्वलाई साथ दिने बताएका हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पराजुलीले कांग्रेसलाई थप सुदृढ र गतिशील बनाउन थापा नेतृत्वमा समर्पित भएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन्। उनले आफू पार्टीको चारतारे झन्डा र चुनाव चिह्न ‘रुख’प्रति प्रतिबद्ध रहेको बताएका छन्।
यसअघि कृष्णप्रसाद सिटौलानिकट नेताका रूपमा चिनिएका पराजुलीलाई देउवा पक्षले मोरङमा समानान्तर अधिवेशनको जिम्मेवारी दिएको थियो। उनको पछिल्लो निर्णयसँगै मोरङ कांग्रेसको आन्तरिक शक्ति समीकरणमा समेत चासो बढेको छ।
विराटनगर महानगरपालिकाका पूर्वमेयर पराजुली कोशी प्रदेश सरकारमा वन, पर्यटन तथा वातावरणमन्त्रीसमेत भइसकेका छन्। थापा पक्षमा खुलेसँगै उनी उक्त समूहबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका छन्।




