विराटनगर । बैंकिङ प्रणाली बाहिरबाट ठूलो रकम ओसारपसार गर्ने गरेको आरोपमा सुनसरी प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूमाथि विभिन्न व्यक्ति तथा फर्मका नाममा रहेका बैंक खातामार्फत १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको हुण्डी कारोबार गरेको देखिएको जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन् । दुवै जनालाई प्रहरीले असोज १ गते पक्राउ गरेको हो ।
हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि निगरानी र विश्लेषण थालेको थियो । सो क्रममा साहद्वयले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खाताहरू प्रयोग गरी ठूलो रकमको कारोबार गरेको खुलेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार बैंक खातामा भएको कारोबारको विश्लेषणबाट उक्त रकम हुण्डीको माध्यमबाट कारोबार भएको देखिएको हो । यसले हुण्डी कारोबार व्यक्तिगत तहमा मात्र नभई विभिन्न बैंक खाता र व्यावसायिक फर्मको नामसमेत प्रयोग गरेर सञ्चालन भइरहेको हुनसक्ने संकेत गरेको छ ।
पक्राउ परेका दुवै जनामाथि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले उनीहरूसँग जोडिएका बैंक खाता, कारोबारमा संलग्न अन्य व्यक्ति तथा फर्म र रकमको स्रोत तथा गन्तव्यबारे समेत अनुसन्धान अघि बढाइरहेको जनाएको छ । १ अर्ब ५७ करोडभन्दा बढीको कारोबार देखिएपछि यसमा थप व्यक्ति तथा संस्थाको संलग्नता खुले–नखुलेको विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिन्छ ।




