लागुऔषधसहित १० जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले चलाएको चेकजाँच तथा निगरानीका क्रममा लागुऔषधसहित १० जना पक्राउ परेका छन्। झापा, धनकुटा र सुनसरीबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार असोज १ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका–७ का प्रकाश सहनी र राहुल राजवंशीलाई ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–१ का २९ वर्षीय मनकुमार राई र २६ वर्षीया रेखा थापालाई ९५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

धनकुटाको प्रहरी चौकी हिलेले चेकजाँचका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का मनिष अधिकारी र अजय साह तथा भोजपुरका सन्तोष खड्का र पवन रोकालाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यस्तै, सुनसरीको अस्थायी प्रहरी पोष्ट सखुवागाछीले इनरुवा नगरपालिका–५ का अर्जुन चौधरी र धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का प्रबिन राईलाई ९४० ग्राम गाँजासहित पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।