विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ

विराटनगर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले असोज १ गते मोरङबाट तीन जना र सुनसरीबाट एक जनालाई पक्राउ गरेको हो।

अपराध नियन्त्रण तथा कानून कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले परिचालित प्रहरी टोलीले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनाबाट अदालतले तोकेको २५ महिना कैद सजाय र ६ हजार ५ सय रुपैयाँ जरिवाना असुलउपर गरिएको छ।

पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजतलास तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।