विराटनगर । मोरङ प्रहरीले ३९८ किलो लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको स्कार्पियो र दुर्घटनामा परेको अर्को कारलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १० गते राति करिब १० बजे विराटनगर महानगरपालिका–३ स्थित आयल निगमको सडकमा प्रहरी चौकी बरगाछीले आकस्मिक चेकिङ गरिरहेको थियो।
इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियोले चेकिङ टोलीलाई देखेपछि अचानक युटर्न गरी भाग्न खोजेको थियो। भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी टोलीले स्कार्पियो जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १३ वटा पोकामा ३९८ किलो गाँजा फेला परेको थियो।
प्रहरीका अनुसार स्कार्पियो चालक भने दुर्घटनापछि फरार भएका छन्। उनको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
दुर्घटनामा परेको कारका चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा बरामद भएको स्कार्पियो र कार दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरे पनि यसको स्रोत, गन्तव्य र कारोबारमा संलग्न व्यक्तिहरूबारे अनुसन्धानबाट थप विवरण खुल्ने अपेक्षा गरिएको छ।




