संखुवासभामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
Portrait of prisoner in jail

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय तेम्बा रिन्जे शेर्पालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार कात्तिक ११ गते बिहान करिब ९ बजे तेम्बा रिन्जे शेर्पाले आफ्नै ४९ वर्षीया श्रीमती मिङ्गाछिकी शेर्पालाई कुटपिट गरेको र उनी मृत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकी र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा तेम्बा रिन्जे शेर्पालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका शेर्पामाथि ज्यानसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

घटनाको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।