जबरजस्ती करणी अभियोगमा एक जना पुर्पक्षका लागि कारागार चलान

संखुवासभा । १४ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

पुर्पक्षमा पठाइएका व्यक्ति संखुवासभा जिल्ला, चैनपुर नगरपालिका–३ स्थायी ठेगाना भएका ३१ वर्षीय रामबहादुर दाहाल हुन्। उनीलाई मिति २०८२ साउन ३ गते प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार २०८२ साउन २ गते चैनपुरकी १४ वर्षीया नाबालिकालाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय चैनपुरमा जाहेरी दर्ता गरेका थिए। जाहेरीको आधारमा अनुसन्धानपछि दाहाललाई संखुवासभा जिल्ला अदालत, चैनपुरमा पेश गरिएको थियो।

मिति २०८२ साउन २७ गतेको अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी, संखुवासभा चलान गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।