मोरङ उद्योग व्यापार संघले सुझाव पत्र बुझाए

मोरङ उद्योग व्यापार संघले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेललाई निजी क्षेत्रको हकहितका विषयमा सुझाव पत्र बुझाएको छ। २०८२ साउन २९ गते विराटनगरस्थित राष्ट्र बैंक प्रादेशिक कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, वाणिज्य उपाध्यक्ष अनिल सारडा लगायतको टोलीले सुझाव पत्र हस्तान्तरण गरेको हो। संघले घाटामा रहेका उद्योग–व्यवसायको ऋण व्यवस्थापनमा सहजता, डेब्ट–इक्वीटी अनुपात मिलेका ऋणलाई खराब कर्जामा नपार्ने, चालु पुँजी कर्जा ६० प्रतिशतसम्म सहज उपलब्ध गराउने, निर्यातकर्तालाई विदेशी मुद्रामा ३–५ प्रतिशत प्रोत्साहन दिने, बैंकको वार्षिक विदा अधिकतम १३ दिन सीमित गर्ने, अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी प्लेटफर्म प्रयोगको अनुमति दिने तथा सहकारी क्षेत्रको प्रभावकारी नियमनका प्रस्ताव राखेको थियो। सुझाव ग्रहण गर्दै गर्भनर पौडेलले यी मागलाई समयोचित र सकारात्मक भन्दै आवश्यक गृहकार्य गरेर सम्भव हदसम्म सम्बोधन गर्ने प्रतिवद्धता जनाए।