३० किलो ९९० ग्राम गाँजासहित बेलबारीमा दुई जना पक्राउ

विराटनगर । मोरङको बेलबारीमा प्रहरीले ३० किलो ९९० ग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कात्तिक ११ गते बिहान करिब ४ बजे बेलबारी नगरपालिका–६ सोम्बारेस्थित सडकखण्डमा चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

सोम्बारेस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४० प ९१९१ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकी जाँच गर्ने क्रममा मोटरसाइकल चालक धनकुटाको चौबिसे गाउँपालिका–७ का ३५ वर्षीय आइतबहादुर राई र पछाडि सवार सोही ठाउँका सन्देश परियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ३० किलो ९९० ग्राम गाँजा र नेपाली नगद ६३ हजार ५०५ रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई मोटरसाइकल र बरामद गाँजासहित इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।