नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको खबरले नेपाली तथा भारतीय कला क्षेत्र स्तब्ध बनेको छ। भारतीय टेलिभिजनको लोकप्रिय गायन प्रतियोगिता ‘इन्डियन आइडल’ को तेस्रो संस्करण जितेर अन्तर्राष्ट्रिय पहिचान बनाएका तामाङ ४३ वर्षको उमेरमा भारतको दिल्लीमा बितेको दाबी गरिएको छ।
उनको निधनको खबर संगीतकार राजेश घतानीले सार्वजनिक गरेपछि सामाजिक सञ्जालमार्फत कलाकार, संगीतकर्मी तथा प्रशंसकहरूले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्। साधारण पृष्ठभूमिबाट उदाएर असाधारण सफलता हासिल गरेका तामाङको जीवन यात्रालाई धेरैले प्रेरणादायी उदाहरणका रूपमा स्मरण गरेका छन्।
सन् २००७ मा इन्डियन आइडल–३ को उपाधि जितेपछि तामाङ केवल एक गायक मात्र रहेनन्, उनी नेपाली युवाहरूको आत्मविश्वास र सम्भावनाको प्रतीक बने। उनको ऐतिहासिक जितले भारतमा रहेका नेपाली समुदाय मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीलाई गर्वको अनुभूति गराएको थियो।
गायनसँगै अभिनयमा समेत सक्रिय रहेका तामाङले नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरे। ‘हिम्मत २’ बाट पहिलो पटक पाश्र्वगायन गरेका उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी भाग १ र २ जस्ता चलचित्रमा अभिनय गरे। दिल, अनमोल छन् र हिम्मत २ मा उनको पाश्र्वगायन रहेको छ।
उनले सलमान खान अभिनीत भनिएको फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउड डेब्यूको तयारीमा समेत थिए। छायांकन सकिएको उक्त फिल्मको डबिङ गर्ने तयारीमा रहेका बेला उनको निधनको खबर आएको बताइएको छ।
भारतको दार्जिलिङमा जन्मिएका तामाङले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए। उनीहरूकी एक छोरी छन्। संगीत यात्राअघि उनले कोलकाता प्रहरीमा कन्सटेबलको रूपमा पनि सेवा गरेका थिए, जसले उनको संघर्षपूर्ण जीवन कथालाई झन् विशेष बनाउँछ।
सन् २००७ मा रिलिज भएको उनको डेब्यू एल्बम ‘धन्यवाद’ तथा ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ जस्ता गीतहरू आज पनि लोकप्रिय छन्। उनले नेपाली टेलिभिजन श्रृंखला ‘तीतो सत्य’ मा समेत अभिनय गरेका थिए।
प्रशान्त तामाङको निधनको खबरले नेपाली र भारतीय संगीत तथा कला क्षेत्रले एक प्रतिभाशाली, बहुआयामिक कलाकार गुमाएको अनुभूति गराएको छ। उनको स्वर, संघर्ष र सफलताले लामो समयसम्म दर्शक–श्रोताको मनमा स्थान बनाइरहनेछ।