विराटनगर, पुस २७ गते
मोरङको विराटनगर महानगरपालिका–१७ बाट १०४ ग्राम लागुऔषध ब्राउन सुगरसहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पुस २६ गते इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा आईसीपी रोडबाट विराटनगरतर्फ आउँदै गरेको BR38AQ 5066 नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक भारतको अररिया जिल्ला निवासी २० वर्षीय सेठु कुमार, मोटरसाइकलमा सवार १९ वर्षीय राजकुमार साह र २० वर्षीय रोशन कुमारको साथबाट १०४ ग्राम लागुऔषध ब्राउन सुगर फेला पारी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।