
विराटनगर । आर्थीक वर्ष २०८१/८२ मा भारतबाट चोरी–तस्करी गरी नेपाल भित्र्याउने क्रममा सुरक्षाकर्मीहरूले समातेको ३ हजार २ सय ५२ केजी कुखुरा पशु क्वारेन्टाइन कार्यालय विराटनगरले नष्ट गरेको छ । उक्त अवधिमा सुरक्षाकर्मीहरूले २ सय ९२ पिस मात्र कुखुरा समाउन सफल भएका छन् ।
मोरङ र सुनसरी जिल्लाका कुखुरा फर्महरूले विराटनगरमा सञ्चालित कुखुरा पसललाई आवश्यक परिमाणमा आपूर्ति गर्न सकेका छैनन् । यही कारण विराटनगरका करिब ९० प्रतिशत कुखुरा व्यापारीहरूले भारतको जोगवनी आसपासका बजारबाट सस्तो मूल्यमा ल्याएर महँगोमा बिक्री गर्दै आएका छन् । यो कुरा नेपाली सुरक्षाकर्मीलाई थाहा नभएको होइन, तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले व्यापारीसँग मोटो रकम लिएर दिनभरि कुखुरा तस्करी गर्न छुट दिँदै आएका छन् ।
यसरी कुखुरा तस्करी हुने प्रमुख नाकाहरूमा विराटनगरको दरहैया बस्ती, दरहैयाकै मुसहरी बस्ती, मटेरवा, इस्लामापुर, हुलासचौक, विराटराजा दरबार नाका, बुधनगर नाका, जहदा नाका, डुमरी नाका, नोचा नाका, खैरवोना नाका, मयागन्ज नाका, रंगेलीस्थित धनपती, डाइनिया, सकिटी र डोरीया–छेटी सिमानाका रहेका छन् ।
भारतको कुखुरा सस्तो हुनुको कारण त्यहाँ कुखुराको दानाको मूल्य नेपालभन्दा प्रति बोरा करिब एक हजार रुपैयाँले कम पर्नु हो । कुखुरा जति ठुलो हुँदै जान्छ त्यति धेरै दाना खाने भएकाले नेपालका कुखुरा फर्म सञ्चालकहरूले डेढ किलोभन्दा बढी तौलको कुखुरा उत्पादन गर्न चाहँदैनन् । तर भारतका व्यापारीहरूले ४ किलोसम्मको कुखुरा उत्पादन गर्ने गरेका छन् ।
कतिपय अवस्थामा नेपालका कुखुरा फर्म सञ्चालकहरूले नेपालमै उत्पादन नगरी भारतबाटै गाडी–गाडी कुखुरा भित्र्याएर बजारको माग पूरा गर्ने गरेका छन् । कुखुरा व्यापारी र माछा व्यापारीले अन्य तस्करभन्दा बढी घुस नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिने गरेको पाइएको छ ।