
विराटनगर । केही दिनदेखि विराटनगरको जोगवनी नाकाको मटेरवा र इस्लामापुरबाट राति १२ बजेपछि करोडौँको लत्ता–कपडा र खाद्यान्न तथा कवाडी तस्करी हुने गरेको स्थानीयवासीहरूको भनाइ रहेको छ ।
एक स्थानीय बासिन्दा भन्छन् – “भरखर निदाएको हुन्छु, तर केहीबेरमै सयौँ टेम्पु, ठेला, मारुति भ्यानको आवाजले निद्रा हराम हुन्छ । दिनभरि काम गरेर थाकेको हुन्छु, राति आराम गर्नुपर्छ भनेर सुतेको हुन्छु तर तस्करहरूले होहल्ला गरेर निद्रै टोड्ने गरेका छन् ।”
विराटनगर जुटमिलमा रहेको सशस्त्र प्रहरी सिमासुरक्षा गुल्म रानीका डिएसपी विकास खतिवडा आएदेखि कसैसँग एक कप चिया समेत नखाने इमान्दार अधिकारीका रूपमा चर्चित छन् । तर उही डिएसपीकै क्षेत्रबाट राति १२ बजेपछि नाम चलेका तस्करहरूले बिहान ३ बजेसम्म तस्करी गर्दा पनि डिएसपीले चाल नपाउनुमा आम जनताले प्रश्न उठाएका छन् – कतै डिएसपी खतिवडा पनि आर्थिक प्रलोभनमा त परे त ?
हिजोसम्म आफ्ना मातहतका प्रहरीलाई “तामातुलसीको कसम खुवाएर” ड्युटीमा पठाउने र दिनभर कसैसँग घुस नखान भनी निर्देशन दिने डिएसपी आफैं कसरी घुस खाए होला भन्ने प्रश्नमा सर्वसाधारण आश्चर्यचकित भएका छन् ।
पहिल्यैदेखि पनि उनका मातहतका सिपाही, हवलदार, असई, इन्स्पेक्टरहरू तस्करसँग मिलेर आर्थिक लाभ लिँदै आएको जनगुनासो रहँदै आएको छ । दशैं जस्तो ठुलो पर्व नजिकिँदै गर्दा तस्करहरूले मन्त्री, नेता, सांसदसम्मको पहुँच प्रयोग गरेर तस्करीको ‘लाइन’ मिलाएको जानकारी पनि आएको छ ।
स्थानीयहरूका अनुसार प्रहरी भित्र उच्च तहसम्म घुस खाने चलन पुरानो हो । तर डिएसपी खतिवडालाई भने तस्करहरूले घुसको कुरा गर्न कार्यालयभित्र छिर्नै नपाउने बनाइदिएका छन् । यद्यपि, डिएसपी आफैं आर्थिक प्रलोभनमा परेका छैनन् भने रातिराति कसरी तस्करी हुन्छ ? किन रोकिन सकेन ? भन्ने प्रश्न जनतामा छ ।
यसअघि जोगवनी नाका मात्रै कडाइमा राखिएको भए पनि मोरङ र सुनसरीका अन्य नाकाबाट चारचक्कैमा तस्करी हुने गरेको जानकारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला प्रशासन प्रमुखसम्म पुगिसक्दा पनि रोकथाम नभएको स्थानीयहरूको गुनासो छ ।
डिएसपी विकास खतिवडालाई पत्रकारहरूले जिज्ञासा राख्दा उनले भने – “मटेरवा र इस्लामापुरतर्फ अस्ति मात्रै लाखौँ मूल्यबराबरको तस्करी भएको कुरा थाहा पाएँ । त्यसबेला ड्युटीमा रहेका कर्मचारीलाई मैले गाली पनि गरेको छु । पत्रकारसँग कुनै फुटेज वा भिडियो भएमा मलाई मातहतलाई कारबाही गर्न अझ सजिलो हुने थियो ।”
यसअघि पनि मोरङका सुरक्षाप्रमुखहरू आर्थिक प्रलोभनमा फसेका घटनाहरू रहेका छन् । करोडौँ मूल्य बराबरका चिनियाँ स्याउ, लसुन, गाई–गोरु, सुन–चाँदी, खसी–बाख्रा, चिनी, काजु, मरिचलगायतका सामान ट्रक–ट्रक तस्करी हुँदा समेत किन कसैले समाउने पहल गरेनन् भन्ने प्रश्न अझै अनुत्तरित छ ।