साना खेलाडीले भरिए दशरथ रंगशाला, किन्डर ओलम्पिकमा बालबालिकाको उत्सव

काठमाडौं । दशरथ रंगशाला मंगलबार बालबालिकाको उत्साह, मुस्कान र खेलकुदको उमंगले भरिएको थियो । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा सम्पन्न १३औँ किन्डर ओलम्पिकले सानै उमेरदेखि खेल संस्कृतिको बीजारोपण गर्ने लक्ष्यलाई फेरि एकपटक मजबुत बनाएको छ ।

कार्यक्रमको दोस्रो चरणमा देशका ६७ विद्यालयबाट करिब १ हजार ६ सय विद्यार्थी सहभागी भए । यसअघि सम्पन्न पहिलो चरणमा उपत्यकाका ३४ विद्यालयका १ हजार ५ सय ४० बालबालिकाले सहभागिता जनाएका थिए । दुई चरणमा गरी करिब ३ हजारभन्दा बढी बालबालिकाको सक्रिय उपस्थितिले किन्डर ओलम्पिकलाई बालखेलकुदको ठूलो उत्सवको रूपमा स्थापित गरेको आयोजकको भनाइ छ ।

मार्चपास्टमार्फत सुरु भएको कार्यक्रममा पूर्वसांसद माधव सापकोटाले ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरे । त्यसपछि अधिकारीसँगै एथलेटिक्सकी ओलम्पियन सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमती विष्टले टर्च लिएर रंगशालाको ट्रयाक परिक्रमा गरे, जसले कार्यक्रमलाई अझ प्रेरणादायी बनायो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको शुभकामना सन्देश प्रसारण गरिएको थियो भने पहिलो चरणका झलक समेटिएको श्रव्यदृश्य प्रस्तुतिले सहभागी र अभिभावकलाई भावुक बनाएको थियो ।

१२ विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको किन्डर ओलम्पिकमा खेलसँगै बालबालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि समावेश गरिएको थियो । खेल जित–हारभन्दा बाहिर रहेर सहभागिता, आत्मविश्वास र अनुशासन सिकाउने अवसरका रूपमा कार्यक्रमलाई लिइएको आयोजकले जनाएको छ ।

एनएसएसएफका महासचिव राजकुमार कार्कीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय, अभिभावक, प्रशिक्षक र सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै किन्डर ओलम्पिक बालखेलकुद विकासको महत्वपूर्ण आधार भएको बताए ।

सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले सन् २०१२ मा इसीइटीएबाट सुरु गरिएको किन्डर ओलम्पिक अहिले राष्ट्रियस्तरको बालखेलकुद अभियानका रूपमा विस्तार हुँदै गएको छ ।