विराटनगर म्युजिकल फेस्टिभलको पाँचौँ संस्करण कात्तिक २० गते, अल्बाट्रस र रकहेड्सको प्रस्तुति रहने
विराटनगर । विराटनगरको सांगीतिक माहोल तताउने उद्देश्यसहित ‘विराटनगर म्युजिकल फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। लाइभ इन्टरटेनमेन्टको आयोजनामा हुने महोत्सवको पाँचौँ संस्करण आगामी कात्तिक २० गते शुक्रबार विराटनगरको मेनरोडस्थित जैन भवनको खुला मैदानमा आयोजना गरिने भएको हो।

महोत्सवमा नेपाली रक संगीत क्षेत्रमा लोकप्रिय अल्बाट्रस ब्यान्ड र रकहेड्स ब्यान्ड मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ। त्यसैगरी विराटनगरका स्थानीय संगीतकर्मीहरूको समूह ‘विराटनगर म्युजिसियन्स ओरिजिनल्स’ को सांगीतिक प्रस्तुति तथा स्थानीय डान्स क्लबहरूको नृत्यले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रिय स्तरका ब्यान्डसँगै स्थानीय कलाकारलाई पनि आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ। नेपाली संगीत, स्थानीय कला र सांस्कृतिक गतिविधिको प्रवर्द्धन गर्नुका साथै विराटनगरको सांगीतिक वातावरणलाई थप जीवन्त बनाउने महोत्सवको उद्देश्य रहेको छ।

दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुँदै आएको यस महोत्सवले मनोरञ्जनसँगै सामाजिक सद्भाव र आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ। यसअघि चार संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको र यसपटक पाँचौँ संस्करण आयोजना गर्न लागिएको हो।
महोत्सवमा दर्शकलाई मौलिक तथा आधुनिक स्थानीय परिकारको स्वाद उपलब्ध गराउन विभिन्न फुड स्टल राखिनेछ। साथै प्रायोजक कम्पनीका स्टलसमेत रहनेछन्। कार्यक्रमलाई आकर्षक बनाउन अन्तर्राष्ट्रियस्तरको साउन्ड सिस्टम, स्टेज, लाइटिङ र एलईडी स्क्रिन प्रयोग गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घोषण काठमाडौँकी होस्ट तथा मोडल मिस रोनीष्मा श्रेष्ठले गर्नेछिन्। महोत्सवका अनलाइन तथा भौतिक टिकट बिक्रीका लागि खल्तीलाई टिकट पार्टनर बनाइएको छ।
आयोजकले प्रि-सेलअन्तर्गत साधारण टिकटको मूल्य ३०० रुपैयाँ र भिआइपी टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ।

मोरङ जिल्ला प्रशासन कार्यालयबाट सुरक्षा स्वीकृति लिइएको कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, निजी सुरक्षा गार्ड तथा आयोजकका स्वयंसेवक परिचालन गरिने व्यवस्था मिलाइएको संयोजक सन्तोष महत (स्याण्ट्री) ले जानकारी दिएका छन्।
महोत्सवको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ। विज्ञापनदाता कम्पनी, सहयोगी संघसंस्था तथा व्यक्तिगत सहयोगबाट खर्च व्यवस्थापन गरिने आयोजकले जनाएको छ। विराटनगर महानगरपालिकाको मुख्य प्रवर्द्धनमा आयोजना हुने महोत्सवलाई सफल बनाउन आयोजकले प्रायोजक, सहकार्य गर्ने संस्था, सञ्चारमाध्यम, कलाकार र दर्शकसँग सहयोगको अपेक्षा गरेको छ।