एजेन्सी । वासिङ्टन डीसी ।
विश्वप्रसिद्ध औषधि तथा सौन्दर्य सामग्री निर्माता कम्पनी जोनसन एण्ड जोनसन (J&J) पुनः विवादको केन्द्रमा आएको छ। अमेरिकी अदालतले कम्पनीलाई आफ्नै बेबी पाउडरको कारण क्यान्सर भई मृत्यु भएकी महिलाको परिवारलाई झन्डै एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
लस एन्जलसस्थित अदालतले दिएको फैसलामा कम्पनीलाई मेसोथेलियोमा क्यान्सरका लागि प्रत्यक्ष जिम्मेवार ठहर गरिएको हो। मृतक मे मूर नामकी महिलाले जीवनभर जोनसन एण्ड जोनसनको बेबी पाउडर र शावर–टु–शावर पाउडर प्रयोग गर्दै आएको परिवारको दाबी छ।
२०२१ मा मूरको निधन भएपछि परिवारले अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूको भनाइ अनुसार पाउडरमा रहेको एस्बेस्टोस नामक विषाक्त पदार्थले मूरको शरीरमा क्यान्सर फैलाएको थियो।
अदालतको फैसलाअनुसार कम्पनीले १ करोड ६० लाख डलर क्षतिपूर्ति र ९५ करोड डलर दण्डात्मक क्षतिपूर्ति भुक्तानी गर्नुपर्नेछ। यो जोनसन एण्ड जोनसनविरुद्ध हालसम्मका सबैभन्दा ठूलो जरिवानामध्ये एक हो।
कम्पनीका विश्वव्यापी कानुनी सल्लाहकार एरिक हासले यो फैसला अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार, यो निर्णय कम्पनीको पक्षमा आएका अघिल्ला धेरै फैसलाको “पूर्ण विपरीत” हो। जोनसन एण्ड जोनसनले अपिलमा जाने तयारी गरेको छ।
बेबी पाउडरमा एस्बेस्टोस भएको आरोपमा कम्पनीमाथि हालसम्म ७० हजारभन्दा बढी मुद्दा दायर भइसकेका छन्। यी मुद्दा लड्न कम्पनीले अहिलेसम्म ३ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लगातार बढ्दो विवाद र विश्वव्यापी दबाबपछि कम्पनीले २०२३ मा बेबी पाउडरको उत्पादन र बिक्री बन्द गरेको थियो। तर यस निर्णयले उपभोक्तामाझ कम्पनीको ब्रान्ड इमेज र विश्वास गुमाएको विश्लेषकहरू बताउँछन्।