
विराटनगर । विराटनगर–१४ रानीस्थित साविकको हाजी आँखा अस्पताल हाल रानी विराटनगर आँखा अस्पताल प्रालिका पूर्वसञ्चालकहरूले सेयर बिक्रीबापतको रकम नपाएको भन्दै गरेको दाबीलाई अस्पताल प्रशासनले खण्डन गरेको छ ।
अस्पतालका अध्यक्ष मनु कुमार गुप्ताले आइतबार पत्रकार सम्मेलन गर्दै पूर्वसञ्चालकहरू डा. गुणराज कट्टेल, ज्याउल कमर, राजेश साह र मो. अतहर अन्सारीले करिब १ करोड ५८ लाख रुपैयाँ सेयर बिक्रीबापतको रकम नपाएको भन्दै सार्वजनिक गरेको दाबी तथ्यहीन र भ्रामक भएको बताएका हुन् ।
गुप्ताका अनुसार २०७८ असोज २४ गते स्थापना भएको अस्पतालका सुरुवाती १६ जना सञ्चालकमध्ये १५ जनाले सेयर बिक्री गरेर बाहिरिने क्रममा पाउनुपर्ने रकम भुक्तानी भइसकेको छ । उनका अनुसार चार पूर्वसञ्चालकलाई मात्रै भुक्तानी गर्नुपर्ने कुल रकम १ करोड ५८ लाख रुपैयाँ रहे पनि अस्पतालले १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार डा. गुणराज कट्टेललाई पाउनुपर्ने ५७ लाख ८० हजार रुपैयाँमध्ये एक्सेल डेभलपमेन्ट बैंकमार्फत २३ लाख ९० हजार, ग्लोबल आइएमई बैंकमार्फत ११ लाख र विभिन्न मितिमा २२ लाख ९० हजार नगद गरी सम्पूर्ण रकम भुक्तानी गरिएको छ ।
त्यस्तै, ज्याउल कमरलाई पाउनुपर्ने १९ लाख ६२ हजार ६०७ रुपैयाँमध्ये १० लाख रुपैयाँ एक्सेल डेभलपमेन्ट बैंकमार्फत र बाँकी ९ लाख ६२ हजार ६०७ रुपैयाँ नगद भुक्तानी गरिएको अस्पतालको दाबी छ ।
राजेश साहलाई पाउनुपर्ने ३० लाख ६३ हजार ४०० रुपैयाँको तुलनामा एक्सेल डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई बैंकमार्फत ३१ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उक्त रकम साहले पाउनुपर्नेभन्दा १ लाख १ हजार ६०० रुपैयाँ बढी हो ।
मो. अतहर अन्सारीलाई पाउनुपर्ने ५० लाख ८० हजार १५६ रुपैयाँमध्ये ४५ लाख ७ हजार ४९५ रुपैयाँ उनका पिता कादिर अन्सारीको नाममा रहेको खातामार्फत एक्सेल डेभलपमेन्ट बैंकबाट र बाँकी ५ लाख ७२ हजार ६६१ रुपैयाँ नगद भुक्तानी गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनले सेयर खरिदका क्रममा ग्यारेन्टीस्वरूप दिइएको कुमारी बैंकको चेकलाई आधार बनाएर अस्पताललाई कालोसूचीमा राख्ने प्रयास गरिएको दाबीसमेत गरेको छ । अध्यक्ष गुप्ताले सेयरबापतको रकम बुझिसकेपछि पनि ग्यारेन्टीको चेकलाई लिएर अस्पताललाई अनावश्यक दुःख दिने कार्य भएको आरोप लगाए ।
उनका अनुसार उच्च अदालतको फैसलाको सम्मान गर्दै अस्पतालले २०८३ असोज ६ र ७ गते ग्यारेन्टीबापतको १ करोड ६० लाख रुपैयाँ कुमारी बैंकमा जम्मा गरिसकेको छ । तर बैंकमा रकम जम्मा गरिए पनि सम्बन्धित पक्षले रकम नबुझेको र उल्टै सञ्चारमाध्यममार्फत अस्पताल तथा आफ्नो व्यक्तिगत चरित्रमा आँच पुर्याउने प्रयास भइरहेको गुप्ताको दाबी छ ।
अस्पतालले आफूले गरेको भुक्तानीका बैंक विवरण तथा नगद भुक्तानीका प्रमाण सुरक्षित रहेको जनाएको छ । अध्यक्ष गुप्ताले सत्यतथ्य नबुझी प्रकाशित समाचारबाट भ्रममा नपर्न आग्रह गर्दै संस्थाको प्रतिष्ठामा आँच पुर्याउने कार्य भए कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।
यद्यपि, पूर्वसञ्चालकहरूले गरेको दाबी र अस्पतालले प्रस्तुत गरेको भुक्तानी विवरणबीचको वास्तविकता सम्बन्धित बैंक अभिलेख, भुक्तानीका प्रमाण तथा अदालतका आदेशका आधारमा थप स्पष्ट हुने देखिन्छ ।




