विराटनगर । भारतबाट नेपाल भित्र्याउन धानखेतको आली प्रयोग गरिएको अवस्थामा मोरङमा सात हजार ब्रोइलर चल्ला बरामद भएको छ। नियमित नाका छलेर रातको समयमा खेत र सहायक बाटो हुँदै चल्ला भित्र्याउने प्रयासले सीमावर्ती क्षेत्रमा कुखुरा तथा चल्लाको अवैध ओसारपसार अझै चुनौतीका रूपमा रहेको देखाएको छ।
सशस्त्र प्रहरी बल नेपाल, बीओपी सिक्टीबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रमा १४ वटा भार बनाएर ल्याइँदै गरेका चल्ला बरामद गरेको हो। सुरक्षाकर्मी देखेपछि चल्ला बोकेर आएका व्यक्तिहरू भारततर्फ भागेका थिए।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बेवारिसे अवस्थामा १४० कार्टुनमा रहेका सात हजार ब्रोइलर चल्ला बरामद गरिएको हो। बरामद चल्लाको अनुमानित मूल्य करिब सात लाख रुपैयाँ रहेको उनले बताए।
भण्डारीका अनुसार क्वारेन्टाइन, कुखुरा व्यवसायी तथा जनप्रतिनिधिको उपस्थितिमा आवश्यक प्रक्रिया पूरा गरी बरामद चल्ला नष्ट गरिनेछ।
घटनाले सीमा क्षेत्रमा अवैध रूपमा चल्ला भित्र्याउने समूहले सुरक्षाकर्मीको नियमित निगरानीबाट बच्न मुख्य नाका छाडेर खेतबारीका आली तथा सहायक बाटो प्रयोग गर्ने गरेको संकेत गरेको छ। रातको समयमा हुने यस्तो कारोबार नियन्त्रण गर्न सीमा निगरानीसँगै बजारसम्म पुग्ने आपूर्ति शृंखलामाथि समेत निगरानी आवश्यक देखिन्छ।
सुनसरी इटहरीका पोल्ट्री व्यवसायी रमेश थापाले भारतबाट अवैध रूपमा कुखुरा र चल्ला भित्रिँदा नेपाली पोल्ट्री व्यवसायमा बहुआयामिक असर पर्ने बताए। उनका अनुसार भारतबाट कम मूल्यमा चल्ला तथा तयारी कुखुरा ल्याएर बिक्री गर्दा नेपालमै उत्पादन गर्ने किसानले लागतअनुसारको मूल्य पाउन कठिन हुन्छ।
“खुला सीमाको फाइदा उठाएर सस्तोमा कुखुरा र चल्ला ल्याउँदा नेपाली किसान र व्यवसायीलाई प्रत्यक्ष असर परेको छ,” थापाले भने।
उनका अनुसार अवैध आयातको असर किसानमा मात्र सीमित नभई ह्याचरी, दाना उद्योग, कुखुरा व्यापारी तथा मासु व्यवसायसम्म पुग्छ। सीमा क्षेत्रमा निगरानी बढाउन र अवैध आयात नियन्त्रण गर्न व्यवसायीले पटकपटक माग गर्दै आएको उनले बताए।
तर, यो विषय आर्थिक प्रतिस्पर्धासँग मात्र सम्बन्धित छैन। पशुपन्छीको स्वास्थ्य सुरक्षासँग समेत प्रत्यक्ष जोडिएको छ। नेपालमा आयात हुने पशु तथा पशुजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका लागि कानुनी व्यवस्था छ। निर्धारित नाकाबाट आवश्यक स्वास्थ्य परीक्षण र प्रमाणपत्रसहित मात्र पशुपन्छी तथा सम्बन्धित सामग्री भित्र्याउनुपर्ने प्रावधान छ।
विराटनगरस्थित पशु क्वारेन्टाइन कार्यालयले जोगबनी, भण्टाबारी र माडरलगायत नाकाबाट नेपाल भित्रिने पशु तथा पशुजन्य सामग्रीको स्वास्थ्य अवस्था र निर्धारित मापदण्ड परीक्षण गर्दै आएको छ। तर खेतका आली, सहायक बाटो वा अनौपचारिक नाका प्रयोग गरेर चल्ला भित्र्याउँदा यस्तो परीक्षण प्रक्रिया छलिने जोखिम हुन्छ।
पशुपन्छीमा फैलिन सक्ने संक्रामक रोगको जोखिमका कारण अवैध रूपमा भित्रिएका चल्ला नियन्त्रणलाई व्यवसायीले स्वास्थ्य सुरक्षासँग समेत जोडेर हेर्नुपर्ने बताएका छन्।
एकैपटक सात हजार चल्ला बरामद हुनु सीमामा भइरहेको अवैध कारोबारको एउटा घटना मात्र हुन सक्ने व्यवसायी थापाको भनाइ छ। उनका अनुसार रातको समयमा हुने ओसारपसार रोक्न सीमा क्षेत्रमा नियमित गस्ती, सहायक बाटोको निगरानी र अवैध कारोबारमा संलग्न समूहको पहिचान आवश्यक छ।
बरामद चल्ला नष्ट गरेर तत्कालको जोखिम नियन्त्रण भए पनि यस्ता सामग्री नेपाल भित्र्याउने प्रयासको स्रोतसम्म पुगेर अनुसन्धान हुन सके मात्र समस्या दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिने देखिन्छ।




