दशैंमा सुरक्षा—व्यक्तिगत सतर्कता र सामुदायिक जिम्मेवारी

 

सत्यनारायण शर्मा

दशैंको चहलपहल र उमङ्गमा परिवार र चिनजानले बटुल्ने यो पर्व हामी सबैको लागि आनन्द र शान्तिको अवसर हो । तर चाडपर्वसँगै चोरी, डकती, र अन्य सुरक्षासम्बन्धी चुनौतीहरू पनि बढ्ने गर्छन् । यस अवसरमा व्यक्तिगत सतर्कता र सामुदायिक संयमले मात्र घर र परिवारको सुरक्षा सुनिश्चित गर्न सक्छ ।

केही सरल तर प्रभावकारी उपाय अपनाएर हामी गाउँठाउँ र सहरमा शान्तिपूर्ण दशैं मनाउन सक्छौं । सबैभन्दा पहिला, घर र व्यवसायका मौलिक सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्छ । मूल्यवान सामान—नगद पैसा, सुनचाँदी, हिरा जस्ता गहना, महँगो इलेक्ट्रोनिक्स आदि सुरक्षित र गोप्य स्थानमा राख्नुहोस् र जहाँसम्म सम्भव हो ताला र अलार्म जडान गर्नुहोस्।

घर खाली राखेर बाहिर जानु परेमा छिमेकीलाई अवश्य जानकारी दिनुहोस् र विश्वासिलो व्यक्तिलाई घर हेर्ने जिम्मेवारी दिइहाल्नु राम्रो अभ्यास हो । सामाजिक सञ्जालमा लामो समयको यात्राको सूचना खोलेर नलेखौं—“हामी तीन दिन विराटनगर बाहिर जाँदैछौं” भन्ने प्रकारका पोस्टले चोर्नेहरूलाई सजिलो संकेत मात्र दिन्छन् ।

घरमा भाडामा बस्ने व्यक्तिहरू भएमा तिनको नाम, ठेगाना, मोबाइल नम्बर र फोटो रेकर्ड राख्नुहोस् । सेवा माग्ने व्यक्तिहरू जस्तै प्लम्बर, बिजुली मिस्त्री, कल मिस्त्री आदिको पनि विवरण टिप्नुभयो भने सम्भावित समस्याबाट बच्न सजिलो हुन्छ । अपरिचित मानिसलाई घर वा व्यवसायिक क्षेत्रमा अनावश्यक पहुँच दिनु हुँदैन; यदि कसैमा शङ्का लाग्यो भने प्रहरीलाई जानकारी गराउनुहोस् । रुटिनका बेला पनि सतर्क रहनुपर्छ—पलाष्टकि टिप्ने वा भिक्षा माग्ने व्यक्तिलाई अनायासै भित्र छिर्न नदिनु बुद्धिमानी हुन्छ ।

यात्रा गर्दा र सडकमा सुरक्षाको कुरा खासै महत्वपूर्ण हुन्छ । दसैँमा यात्रा र भ्रमण बढी हुने भएकाले सवारी चलाउँदा लापरवाही नगर्नु अनिवार्य छ । लागुऔषध वा मदिरा सेवन गरेर सवारी नचलाउनुहोस्; मोटरसाइकलमा हरेक यात्रीले हेल्मेट लगाउनुपर्छ; सवारी नियमको पालना गर्दा दुर्घटनाको संभावना घट्छ । समूहमा यात्रा गर्दा चार–पाँच जना मोटरसाइकलमा ओभरलोड गरेर नजाने—सुचना र अनुशासनले जीवन बचाउँछ । चाडपर्वको रमाईलोमा तास, जुवा वा फलास जस्ता अनियमित गतिविधिमा संलग्न नहुनु राम्रो—यस्ता क्रियाकलापले पारिवारिक तथा सामाजिक क्षति पुग्न सक्छ। खानपानमा पनि सावधानी अपनाउनुपर्छ—बाहिरको खाना जति विश्वासिलो स्रोतबाट लिनुहोस् र ताजा, सफा तरिकाले पकाइएको खानेकुरा रोज्नुहोस्, विशेषगरी बालबालिका र वृद्धवृद्धालाई ध्यानमा राख्दै ।

अन्त्यमा, सुरक्षा केवल व्यक्तिगत जिम्मेवारी मात्र होइन—सामुदायिक जिम्मेवारी पनि हो । हामीले आ–आफ्नो ठाउँमा सचेतता बढाउँदा र एकअर्कासँग सहयोग गर्दा पर्व शान्तिपूर्ण र खुसीले भरिन्छ । दशैंका लागि यात्रा र भेटघाट उत्तम तरिका हो तर त्यसैसँगै छोटो सावधानीले ठूलो नोक्सानबाट बचाउँछ । यस वर्षको दशैंमा–“आफ्नो सुरक्षा आफैँ गरौं, लापरवाही नहोस” भन्ने मूल मन्त्रलाई आत्मसात् गरौं र शान्ति, मेलमिलाप र सुरक्षा सहित पर्व मनाऔं । शुभ दशैं!