मधुसुधन भट्टराई
काठमाडौं । राजनीति गर्नेका लागि प्रतिनिधिसभा निर्वाचन जितेर सांसद हुँदै मन्त्री बन्ने आकांक्षा हुन्छ । त्यसलाई पूरा गर्न केहीले आफू आबद्ध दलमा रहेर प्रयास गर्छन् भने केहीले दल फेरेर भए पनि संसद्मा पुग्ने प्रयास गरिरहन्छन् ।
दल फेरेर सांसद, मन्त्री वा प्रधानमन्त्री बन्ने वातावरण निर्माण गर्न लागिपर्नेमा शीर्ष तहका नेतासम्म छन् । आठौं पटक निर्वाचन लडिरहेका विजयकुमार गच्छदार, राजेन्द्र महतो तथा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालदेखि सबैभन्दा धेरै पटक मन्त्री बन्ने शरतसिंह भण्डारीसम्म छन् ।
विजयकुमार गच्छदार
विजयकुमार गच्छदार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–३ बाट प्रतिस्पर्धा गरिरहेका छन् । उनी नेपाली कांग्रेसको चुनाव चिह्न रूख लिएर अहिले प्रतिस्पर्धामा छन् । २०४८ सालदेखि २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७० र अहिले २०८२ गरी ८ औँ निर्वाचनमा प्रतिस्पर्धामा रहेका गच्छदारले हालसम्म तीनवटा चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका छन् ।
गच्छदार कांग्रेसको चुनाव चिह्न रूखबाट २०४८, २०५१ र २०५६ मा सुनसरी–२ बाट निर्वाचित भए । २०४८ मा एमाले उम्मेदवार लीला श्रेष्ठ सुब्बा, २०५१ मा एमालेकै उम्मेदवार कुलदीप पेशकर र २०५६ मा पनि एमालेकै उम्मेदवार रेवतीरमण भण्डारीलाई पराजित गरे ।
२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा गच्छदार पार्टी परिवर्तन गर्दै उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल प्रवेश गरे । त्यो बेला गच्छदार फोरमको मसाल चिह्नबाट सुनसरी–३ र मोरङ–७ गरी दुई ठाउँबाट प्रतिस्पर्धामा उत्रिए र दुवै क्षेत्रबाट विजयी भए । गच्छदारले सुनसरी–३ मा कांग्रेसका अगमलाल चौधरी र मोरङ–७ मा कांग्रेसकै डा। शेखर कोइरालालाई पराजित गरेका थिए ।
२०६६ सालमा गच्छदारले फोरम नेपाल फुटाएर आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी बनाए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गच्छदारले त्यही पार्टीको नमस्कार चिह्नबाट सुनसरी(३ मा एमाले उम्मेदवार भगवती चौधरीलाई पराजित गरे । संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा गच्छदार कांग्रेस फर्किएर सुनसरी–२ मा एमाले उम्मेदवार भगवती चौधरीलाई दोस्रो पटक पराजित गरे । २०७९ मा भने भगवतीले गच्छदारलाई पराजित गरिन् ।
राजेन्द्र महतो
राजेन्द्र महतो पनि चुनाव चिह्न फेरेर सांसद बन्न प्रयास गरिरहने नेता हुन् । २०४८ सालदेखि नै निर्वाचनमा होमिन थालेका महतोले अहिलेसम्म चारवटा पार्टी परिवर्तन गरिसकेका छन् ।
२०४८ र २०५१ को निर्वाचनमा नेपाल सदभावना पार्टीबाट सर्लाही(२ मा उम्मेदवार बनेका महतो दुवै पटक कांग्रेस उम्मेदवार मीना पाण्डेसँग पराजित भए । २०५६ मा सर्लाही(२ मा नेपाल सद्भावना पार्टीबाटै निर्वाचित भएर पहिलो पटक सांसद बने । उक्त निर्वाचनमा महतोले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सूर्यबहादुर थापालाई पराजित गरेका थिए । त्यसबेला नेपाल सद्भावना पार्टीको चुनाव चिह्न पञ्जा थियो ।
२०६४ सालमा सद्भावना पार्टीबाट सर्लाही–४ मा तराई मधेस लोकतान्त्रिक पार्टीका रामचन्द्र राय यादवलाई पराजित गरे । त्यो बेला चुनाव चिह्न तीर थियो । २०७० मा सर्लाही–४ बाट तीर चुनाव चिह्न लिएर लडेका महतो तराई मधेस सद्भावना पार्टीका महिन्द्र राय यादवसँग पराजित भए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बन्दै धनुषा–३ मा कांग्रेस उम्मेदवार विमलेन्द्र निधिलाई पराजित गरे । त्यसबेला चुनाव चिह्न छाता थियो ।
२०७९ को निर्वाचनमा पनि महतो सर्लाही–२ मै उम्मेदवार बने । त्यसबेला पार्टी परिवर्तन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिस्पर्धा गरे । साइकल चुनाव चिह्नमा प्रतिस्पर्धा गरेका महतो माओवादी केन्द्रको चुनाव चिह्नमा लडेका महिन्द्र राय यादवसँग पराजित भए ।
महतो अहिले राष्ट्रिय मुक्ति पार्टी खोलेर अध्यक्ष बनेका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि उनी नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्न जाँतोबाट सर्लाही–२ मा उम्मेदवार छन् ।
उपेन्द्र यादव
पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गरेर चुनावमा प्रतिस्पर्धा गरिरहने अर्का नेता हुन् उपेन्द्र यादव । उनको दल विभिन्न पार्टीसँग एकता हुँदा नाम र चिह्न परिवर्तन हुँदै आएको छ । हाल जनता समाजवादी पार्टी नेपालको अध्यक्ष रहेका यादवले हालसम्म तीनवटा पार्टी र दुई चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका छन् ।
मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी फोरम नेपाल र जनता समाजवादी पार्टी नेपालबाट उनले चुनावी प्रतिस्पर्धा गरेका छन् । यादव मसाल र छाता चुनाव चिह्नबाट प्रतिस्पर्धा गरिरहेका छन् ।
जसपा नेपालबाट उम्मेदवार बन्दै २०७९ मा भएको निर्वाचनमा सप्तरी(२ बाट जनमत पार्टीका अध्यक्ष डा। सीके राउतसँग पराजित भएका यादव २०८० मा भएको उपनिर्वाचनमा बारा–२ बाट विजयी भएका थिए । चुनाव चिह्न छाता थियो ।
जसपा नेपालको चुनाव चिह्न छाताबाटै २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यादव सप्तरी–२ बाट विजयी भए । संघीय समाजवादी फोरमबाट २०७० को संविधानसभा ९प्रतिनिधिसभा० निर्वाचनमा सुनसरी–५ बाट निर्वाचित भए । चुनाव चिह्न मसाल थियो । २०६४ सालको प्रतिनिधिसभा ९संविधानसभा० निर्वाचनमा यादव मोरङ–५ र सुनसरी–५ मा मधेसी जनअधिकार फोरम नेपालबाट जिते । उपनिर्वाचनमा मोरङ–५ छोडेर सुनसरी–५ बाट सांसद पद कायम राखे । चुनाव चिह्न मसाल नै थियो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यादवले सप्तरी–३ मा जसपा नेपालबाट उम्मेदवारी दर्ता गराएका छन् ।
शरतसिंह भण्डारी
चुनाव चिह्न फेर्दै सदैव सत्तामा पुग्ने सदावहार खेलाडी हुन् शरतसिंह भण्डारी । दुई पटक राष्ट्रिय पञ्चायत सदस्यबाट संसद् यात्रा सुरु गरेका भण्डारी अहिले पनि उम्मेदवार छन् ।
भण्डारी २०३८ र २०४३ सालमा महोत्तरीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । त्यो बेला राष्ट्रिय पञ्चायतमा व्यक्तिपिच्छे चुनाव चिन्ह फरक(फरक हुन्थ्यो ।
२०४८ सालको आम निर्वाचनमा पराजित भएका भण्डारी २०५१ कात्तिकमा सम्पन्न मध्यावधि निर्वाचनमा महोत्तरी(४ बाट स्वतन्त्र उम्मेदवार बन्दै निर्वाचित भए । स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न फरक–फरक हुन्छ ।
२०५६ सालको निर्वाचनअघि भण्डारी कांग्रेसमा प्रवेश गरे र त्यो निर्वाचनमा रूख चुनाव चिह्नबाट महोत्तरी–३ बाट निर्वाचित भए ।
२०६२–०६३ को राजनीतिक परिवर्तनसँगै उनी कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल पुगे । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा महोत्तरी–६ बाट निर्वाचित भए । फोरमको चुनाव चिह्न मसाल थियो ।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनअघि आफ्नै नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी बनाए । त्यही पार्टीबाट महोत्तरी(१ र महोत्तरी(६ बाट चुनावमा प्रतिस्पर्धा गरे, तर दुवै क्षेत्रमा पराजित भए ।
संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा महोत्तरी–२ बाट भण्डारी राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भए । चुनाव चिह्न छाता थियो । २०७९ को निर्वाचनमा भण्डारी महोत्तरी–२ बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेर जितेका थिए । चुनाव चिह्न साइकल थियो । अहिले भण्डारी जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार छन् । उनको चुनाव चिह्न ढल्केको छाता छ ।
अनिल झा
अनिल झा पनि दल बदल्दै संसद्मा पुग्न खोज्ने नेता हुन् । अहिलेसम्म दुई कार्यकाल दुई पार्टीका चुनाव चिह्नबाट उनी सांसद् भएका छन् । अहिले तेस्रोपटक अर्को चुनाव चिह्नबाट प्रतिस्पर्धामा छन् ।
झा २०६४ को संविधानसभा निर्वाचनमा सद्भावना पार्टीको समानुपातिक सांसद् बनेका थिए । चुनाव चिह्न तीर थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट रौतहट–१ मा उम्मेदवार बनेर विजयी भएका थिए । चुनाव चिह्न छाता थियो ।
झा अहिले रौतहट(१ मा उम्मेदवार बनेका छन् । यसपटक उनी नेपाली कांग्रेसको चुनाव चिह्न रूख लिएर चुनावी मैदानमा छन् ।
पुष्पकमल दाहाल ुप्रचण्डु
नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि दलको नाम र चिह्न बदल्दै निर्वाचनमा प्रतिस्पर्धा गर्नेमा पर्छन् । १० वर्षे सशस्त्र द्वन्द्वबाट उदाएका प्रचण्ड २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनबाट संसदीय राजनीतिमा हाम फालेका हुन् । नेकपा माओवादी, त्यसपछि एकीकृत नेकपा माओवादी, त्यसपछि नेकपा माओवादी केन्द्र हुँदै उनी नेतृत्वको पार्टीको नाम अहिले नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बनेको छ । पाँच निर्वाचनमा प्रतिस्पर्धा गर्दा दुई चुनाव चिह्नबाट उनले प्रतिस्पर्धा गर्दैछन् ।
प्रचण्डले २०६४ मा काठमाडौँ(१० र रोल्पा(२, २०७० मा सिराहा–३, २०७४ मा चितवन(३ र २०७९ मा गोरखा(२ बाट चुनाव चिह्न हसियाँ हथौडामा प्रतिस्पर्धा गरेर जितेका थिए । यद्यपि २०७० मा काठमाडौँ–१० मा हसियाँ हथौडा चिह्नबाट प्रतिस्पर्धा गर्दा कांग्रेस उम्मेदवार राजन केसीसँग पराजित भएका थिए ।
अहिले उनी पूर्वी रुकुमबाट चुनाव चिह्न तारा लिएर नेकपाको उम्मेदवार बनेका छन् ।
माधवकुमार नेपाल
नेकपाका सहसंयोजक माधवकुमार नेपालले पनि हालसम्म तीनवटा चुनाव चिह्नबाट प्रतिस्पर्धा गरिसकेका छन् । नेपालले २०४८ सालबाट संसदीय यात्रा सुरू गरेका हुन् ।
२०४८ मा राष्ट्रिय सभा, २०५६ मा प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१, २०७० मा रौतहट–१ र २०७४ मा काठमाडौँ–२ मा नेकपा एमालेको सूर्य चिह्नबाट प्रतिस्पर्धा गरी उनी निर्वाचित भएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेपाल रौतहट–१ मा सूर्य चिह्नबाट प्रतिस्पर्धा गरेका थिए, तर पराजित भए ।
२०७९ मा तत्कालीन नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलमबाट रौतहट–१ बाट नेपाल निर्वाचित भए । फागुन २१ गतेको निर्वाचनमा नेपाल नेकपाको तारा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् । उनको निर्वाचन क्षेत्र रौतहट(१ हो ।
जनार्दन शर्मा
जनार्दन शर्मा फागुन २१ गतेको निर्वाचनमा चुनाव चिह्न र पार्टी परिवर्तन गरी उम्मेदवार बनेका छन् । २०६४ र २०७० मा भएका संविधानसभा निर्वाचनमा माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट रूकुममा निर्वाचित भएका थिए ।
त्यस्तै २०७४ र २०७९ रुकुम पश्चिमबाट हँसिया हथौडा चुनाव चिह्न लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका शर्मा अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्न आँखा लिएर रुकुम पश्चिमबाटै सांसद बन्न प्रतिस्पर्धामा छन् ।
प्रेम आले
प्रेम आले पनि फरक(फरक चुनाव चिह्नबाट चुनाव लडिरहने नेतामा पर्छन् । आले २०७० मा डोटी–२ र २०७४ मा डोटीमा नेकपा एमालेको सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्दै निर्वाचित भएका थिए ।
२०७९ मा आलेले पार्टी परिवर्तन गरेर नेकपा एकीकृत समाजवादीमा पुगे । त्यो पार्टीको कलम चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दै निर्वाचित भए ।
अहिले उनी नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न ताराबाट प्रतिस्पर्धामा छन् । यसपटक उनले चुनाव चिह्न मात्रै होइन, निर्वाचन क्षेत्र पनि परिवर्तन गरेर डोटीबाट कैलाली–५ मा झरेका छन् ।
डा। भीम रावल
नेकपाका नेता डा। भीम रावल यसपटक फरक चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछन् । २०५१ मा अछाम–१, २०६४ मा समानुपातिक प्रणालीबाट र २०७० मा अछाम–१ र २०७४ अछाम–१ बाट नेकपा एमालेको सूर्य चिह्न लिएर प्रतिस्पर्धा गरी रावल निर्वाचित भएका थिए ।
उनी अहिले नेपाली कम्युनिस्ट पार्टीको तारा चुनाव चिह्न लिएर अछाम–१ बाटै प्रतिस्पर्धा गर्दैछन् ।
महिन्द्र राय यादव
महिन्द्र राय यादव फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पाँचौँ पार्टी र चुनाव चिह्न लिएर मैदानमा होमिएका छन् । २०५१ र २०५६ मा सर्लाही–१ बाट नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट प्रतिस्पर्धा गरी यादव निर्वाचित भएका थिए ।
२०७० को संविधासभा निर्वाचनमा पार्टी परिवर्तन गरी तराई मधेस सद्भावना पार्टीबाट सर्लाही–४ मा उम्मेदवार बन्दै निर्वाचित भए । त्यसपछि पार्टी परिवर्तन गरेर राष्ट्रिय जनता पार्टी नेपालको चुनाव चिह्न छाताबाट प्रतिस्पर्धा गर्दै २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ बाट निर्वाचित भए ।
२०७९ मा पार्टी परिवर्तन गर्दै नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर सर्लाही–२ बाट निर्वाचित भए । अहिलेको निर्वाचनमा पुनः पार्टी परिवर्तन गर्दै यादव नेपाली कम्युनिस्ट पार्टीको तारा चुनाव चिह्न लिएर सर्लाही–२ मा प्रतिस्पर्धा गर्दैछन् ।




