सत्यनारायण शर्मा
विराटनगर । विराटनगरस्थित सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमासुरक्षा गुल्म रानीमा पहिलोपटक इमानदार सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास खतिवडा काठमाडौँबाट सरुवा भएर आएपछि रानी भन्सार नाकामा हुने तस्करीमा ऐतिहासिक रूपमा कमी आएको छ।
पहिले रानी भन्सार हुँदै करिब दुई सय जना तस्करले दैनिक रूपमा तस्करी गर्दै आएका थिए। तर डिएसपी खतिवडा कार्यभार सम्हालेपछि तस्करी रोकिँदै जाँदा करिब ९० प्रतिशत तस्करहरू आफ्नो पेशा परिवर्तन गर्न बाध्य भएको बताइएको छ।
डिएसपी खतिवडा सरुवा हुनुअघि नाकामा खुलेआम तस्करी हुन्थ्यो। तर उनी आएपछि तस्करी ‘जिरो’ बनाउने अभियानमा कठोर रूपमा लागे। यस क्रममा तस्कर र सशस्त्र प्रहरीबीच पटक–पटक झडपसम्मको स्थिति समेत सिर्जना भयो। डिएसपी खतिवडाले केही तस्करविरुद्ध मुद्दा दर्ता पनि गरे, जुन यसअघि कुनै पनि प्रमुखले गर्ने हिम्मत गरेको थिएन।
यसअघि कार्यालय प्रमुखहरू तस्करहरूसँग आर्थिक लेनदेनमा संलग्न हुने गरेका थिए। तस्करहरूले प्रमुखको जन्मदिन नै भव्य होटलमा मनाइदिने प्रचलन थियो। तर खतिवडा आएपछि उनले कुनै पनि तस्करलाई कार्यालय प्रवेशमै रोक्दै एक कप चिया पनि नस्वीकार गरे। आर्थिक प्रलोभन नलिई उनले तस्करी उन्मूलनमा कडाइ गरेपछि तस्करहरूले पार्टी नेतासमेत मार्फत दबाब सिर्जना गर्न खोजे, तर प्रभाव पार्न सकेनन्।
पहिलाका हाकीमहरूलाई दिने मासिक रकमको दोब्बर रकम दिने प्रस्ताव गरे पनि डिएसपी खतिवडा आर्थिक प्रलोभनमा परेनन्। फलस्वरूप विराटनगर रानी नाकाबाट तस्करी गर्दै आएका करिब दुई सयभन्दा बढी तस्करहरू बिचल्लीमा परे। कोही सुनसरी झरे, धेरैजसोले पेशा परिवर्तन गरे।
विराटनगरमा ‘नाम चलेको’ तरकारी तस्कर जो दैनिक पाँच ट्रकभन्दा बढी आलु–प्याज जोगबनीबाट भित्र्याउँथिन, उनको तस्करी समेत खतिवडाले पूर्ण रोक लगाए। त्यसपछि उनी अहिले घरमै बसेकी छन्।
त्यस्तै, पहिलाका लुगा तस्कर अहिले सिटी रिक्सा चलाइरहेका छन्। कोही माछा बेच्न थालेका छन्; कोहीले चिया–नास्ताको पसल खोलेका छन्। किराना सामान तस्करी गर्ने अधिकांश महिला अहिले हाटबजारमा आलुचप, पियाजी, बैगनीचप, भक्का आदि बेचेर गुजारा चलाइरहेका छन्।
पहिले करिब एक सय अपाङ्गता भएका व्यक्तिहरू तीनचक्के रिक्सा, भ्यान र मोटरसाइकलमार्फत दैनिक लाखौँ रुपैयाँका सामान तस्करी गर्थे। डिएसपी खतिवडाले प्रारम्भमा उनीहरूलाई दया देखाएर सामान्य सामान बोक्न दिन्थे। तर पछि उनीहरूले काजु–किस्मिस, पानपराग, रजनीगन्धा, सुर्तीजस्ता महँगा तथा प्रतिबन्धित वस्तु बोक्न थालेपछि उनले अपाङ्गता भएका व्यक्तिहरूद्वारा हुने तस्करीमा पनि रोक लगाए। अहिले तस्करीमा अपाङ्गता भएका कोही पनि व्यक्ति देखिदैनन्।
त्यही बेला तस्करका नाइकेहरूले बिरगञ्ज र बिहारबाट तलबमा मान्छे भाडामा ल्याएर तस्करी गराउने, यहाँसम्म कि ‘नक्कली अपाङ्गता’ देखाएर हातखुट्टा चल्ने व्यक्तिसमेत प्रयोग गर्ने गरेको खुलेको छ।
हाल भने रानी भन्सार नाकामा तस्करी जस्तोसुकै खोज्दा पनि नदेखिने अवस्था आएको छ। केही एक–दुइ जना तस्कर बेलाबेला सक्रिय भए पनि डिएसपीले पटक–पटक सामान समातेर बुझाइदिँदा उनीहरू पनि निष्क्रिय भएका छन्।
गत वर्ष २०८१ साल जेठदेखि कात्तिक मसान्तसम्म रानी भन्सारमा रु. १ करोड ५२ लाख ४६ हजार ४ सय राजस्व संकलन भएको थियो, त्यो समय तस्करी खुलेआम थियो।
तर यो वर्ष डिएसपी खतिवडा आएपछि तस्करी लगभग शून्य हुँदा समेत २०८२ साल जेठदेखि हालसम्म रु. १ करोड ७० लाख ५३ हजार बराबरको सामान भन्सार दाखिला गरिएको छ। साथै ८ जनामाथि मुद्दा दर्ता गरिएको छ।
पहिले तस्करहरूले दर्जनौँ सशस्त्र प्रहरी कर्मचारीलाई कुटपिट र गालीगलोज गरे पनि कार्यालय प्रमुखहरूले कारबाही गर्न वा उजुरी दर्ता गर्न सकेका थिएनन्। तर खतिवडाले कडाइका साथ मुद्दा चलाएपछि अब कर्मचारीको कार्य–उत्साह बढेको छ।
पहिले सशस्त्र प्रहरीका सई/असई र भन्सारका कर्मचारीहरूले एक–दुई नम्बर ढाटमा तस्करहरूसँग ‘पर पोका’ अनुसार रु. १०० लिएर सामान जान दिने गर्थे। नेपाल प्रहरीले समेत ढाट काटेपछि ‘पर पोका’ वापत त्यत्तिकै रकम लिने गर्थे। पत्रकार वा अन्य व्यक्तिलाई समेत तस्करले नै मिलाउने गर्थे।
तर अहिले डिएसपी विकास खतिवडा आएदेखि यी सबै दुराचार, भ्रष्टाचार र तस्करीका अवैध क्रियाकलाप पूर्ण रूपमा बन्द भएको छ।