तिजको नाममा महिला दिदीबहिनीहरूले फजुल खर्च नगरौँ
Nepalese Hindu women perform ritual at the bank of Bagmati River during the Rishi Panchami festival in Kathmandu, Nepal, September 6, 2016. Rishi Pancham is observe to mark the end of three day long Teej festival and it is celebrated by the Hindu women reaching their menstruation period observe this festival with due respect and importance by fasting and paying homage to the Sapta rishis (seven powerful saints as per the Hindu mythology) with a belief that they will be blessed and forgiven for all sins they believed to have committed during the menstrual cycle. (Photo by Sunil Pradhan/NurPhoto via Getty Images)

सत्यनारायण शर्मा

अहिले केही दिन वा हप्तापछि नेपाली महिलाहरूको महान् पर्व तिज आउँदैछ। यस पर्वलाई स्वागत गर्न केही वर्षदेखि एक महिनाअगाडिदेखि नै नातागोता, छिमेकी, कार्यालय, विद्यालय, बैंक, कलेज, सहकारी तथा विभिन्न समूहमा पालैपालो “दर खाने” चलन बढ्दै गएको छ।

तर, यो दर खाने परम्परा अहिले धेरैलाई आर्थिक रूपमा भारी पर्न थालेको छ। कतिपयलाई त यसका लागि ऋणकर्जा समेत लिनुपर्ने अवस्था आएको छ। पहिले–पहिले नेपालीहरूको महँगो पर्व भनेको दशैं–तिहार मात्र मानिन्थ्यो। तर, आजकाल दशैं–तिहारभन्दा बढी खर्चिलो र तडकभडकपूर्ण पर्वको रूपमा तिज देखापरेको छ।

हिन्दू संस्कारमा तिजलाई पवित्र पर्व मानिन्छ। तर पछिल्ला वर्षहरूमा तिजको बहानामा दर खाने नाममा मदिरा सेवन गर्ने, संस्कार र परम्परालाई दूषित पार्ने प्रवृत्ति मौलाउँदै गएको छ। कतिपय दिदीबहिनीहरूले विदेशमा देखेका फैशन, अर्धनग्न पहिरन, होटल–रेस्टुरेन्टमा मदिरा सेवन जस्ता चलनलाई नेपालमै नक्कल गर्न थालेका छन्, जुन हाम्रो समाजको मूल्य–मान्यतासँग मेल खाने कुरा होइन।

पहिले माइतबाट बोलाउँदा मात्र दर खाने चलन थियो। अहिले भने छिमेकीले पनि खुवाउनुपर्ने, छिमेकीलाई पनि खुवाउनुपर्ने, कार्यालयमा कर्मचारीहरू मिलेर चन्दा उठाउनुपर्ने, विद्यालयमा शिक्षक–शिक्षिकाले समेत चन्दा उठाएर दर खाने अवस्था आएको छ। एक महिलाले एक महिनासम्म विभिन्न ठाउँमा दर खाने हो भने खर्च कति हुन्छ, सहजै अनुमान गर्न सकिन्छ।

दर खानु आफैंमा गलत होइन। तर दर खाने नाममा मदिरा सेवन गर्दै, नाचगानमा सीमा नाघ्दै, लडिवडी गर्दै, आफ्नो ज्यानसमेत सम्हाल्न नसक्ने अवस्था ल्याउनु गलत हो। महिला भनेको लक्ष्मी हुन्, घरको शोभा हुन्, समाजको इज्जत हुन्। महिला कसैकी छोरी, कसैकी बुहारी, कसैकी श्रीमती, आमा वा दिदीबहिनी हुन्। त्यही महिला समाजको अगाडि मदिरा सेवन गरेर हिँड्दा आउने पुस्ताले के सिक्ने?

त्यसैले, दर वर्षमा दर एक दिन मात्र खाऔँ। अरू पर्व वर्षमा एक दिन मात्र मनाइने भएझैं, तिज पनि एक दिन मात्र मनाउनु उचित हुन्छ। महिनौँअगाडिदेखि दर खाने चलन तत्काल रोक्नु आवश्यक छ। आवश्यकता परे जिल्ला प्रशासन कार्यालयले पनि यसमा नियन्त्रण गर्ने कदम चाल्नुपर्छ।

जसको जति आर्थिक क्षमता छ, उसले त्यति मात्र खर्च गरोस्। चाडपर्वको नाममा फजुल खर्च र संस्कृतिको क्षति दुवै गर्नुभन्दा सादगीपूर्वक, मौलिक संस्कारलाई जोगाउँदै तिज मनाऔँ। यही हो हाम्रो संस्कृतिको रक्षा गर्ने सबैभन्दा प्रभावकारी उपाय।