विराटनगरको पानी ः ३० वर्षको प्रतीक्षा, अब रूपान्तरणको मोडमा


सत्यनारायण शर्मा
विराटनगर जति पुरानो शहर हो, त्यत्तिकै पुरानो यसको खानेपानी समस्या पनि हो। दशकौँदेखि नगरवासीले भोग्दै आएको झन्झट—कहिले पानी नआउने, आए पनि फोहोर मिसिएको, पाइपलाइन च्यातिएको, चाप नपुग्ने, ट्यांकर किनेर पानी किन्नुपर्ने—यी सबै अब बिस्तारै इतिहास बन्ने संकेत देखिएका छन् । जापान सरकारको जाइका अनुदानमा अघि बढिरहेको “विराटनगर खानेपानी गुणस्तर सुधार आयोजना” यही आशाको जग हो, जसले तीन दशक पुरानो वितरण प्रणालीलाई पूर्णरूपमा पुनःनिर्माण गर्ने दाबी गरेको छ ।

तर विकासका योजनाहरू कागज र भाषणभन्दा पनि कामको गतिले मूल्यांकन हुन्छ । यस दृष्टिकोणले हेर्दा, विराटनगरमा सुरु भएको यो आयोजना साँच्चिकै एउटा ‘टर्निङ पोइन्ट’ जस्तै देखिन थालेको छ पुरानो विरासत, नयाँ आवश्यकताः किन अपरिहार्य भयो यो परियोजना । विराटनगरलाई औद्योगिक राजधानी भनिन्छ तर यो शहरले खानेपानीमा भोग्दै आएको दुर्दशा भने राजधानी नाम सुहाउने थिएन। २००९ मा जाइकाले गरेको पूर्वअध्ययन र त्यसपछि देखिएको हेपाटाइटिसको महामारी—असुरक्षित पानी आपूर्तिको प्रत्यक्ष परिणाम—ले यो परियोजनालाई राजनीतिक प्राथमिकतामा ल्याएको हो। दशकौँ पुरानो पाइपहरू जर्जर थिए, कतै चुहावट, कतै सिसाक्लोरिनका अवशेष, कतै मिसावट र कतै चाप नै नआउने।

एक लाखभन्दा बढी जनसंख्या भएको शहरमा यस्तो अवस्थाले सार्वजनिक स्वास्थ्य मात्रै होइन, आर्थिक गतिविधिमा पनि बाधा पुर्याइरहेको थियो। त्यसैले यो योजना कुनै विलासिता होइन, जीवनस्तर सुधारको आधारभूत पूर्वाधार भएको प्रष्ट छ । ५८ किलोमिटर नयाँ पाइपलाइन ः काम कति अघि बढ्यो । आयोजक निकाय र निर्माण कम्पनी दुबैको रिपोर्टले आशा जगाएको छ—कुल ५८ किलोमिटर पाइपलाइनमध्ये ५० किलोमिटर काम सकिनु केवल भौतिक प्रगतिको तथ्य मात्र होइन, विराटनगरको भविष्यको संकेत पनि हो । सिमुजी कर्पोरेसनले पाइप बिछ्याउने मात्र होइन, त्यससँगै प्रेसर परीक्षण, हाउस कनेक्सन र इन्टरकनेक्सनलाई समानान्तर चलाएको छ, जुन प्राविधिक दृष्टिले पनि व्यावहारिक रणनीति मानिन्छ। पछि सडक फेरी–फेरी खन्न नपर्ने गरी कनेक्सनलाई नाला र फुटपाथसम्म निकालिएको भनाइले दीर्घकालीन सोच देखाउँछ—नेपालका परियोजनामा सामान्यतया देखिने कमजोरीहरूको विपरीत । सडक खनेर कैलो बनिदिने, पानी बिछ्याएपछि वर्षौँसम्म त्यस्तै राखिने ‘जसको काम उसले गर्दैन’ भन्ने प्रवृत्तिलाई तोड्दै ३ किलोमिटर सडक तत्काल कालोपत्रे गरिएको तथ्य पनि उल्लेखनीय छ । समयमै काम, कि त्यसभन्दा छिटो ।

नेपालका अधिकांश विकास योजनाहरू ढिलो, बजेटपास गराउने, ठेकेदार बदल्ने, फेरि थप समय माग्ने—यिनै कथाले चिनिन्छन् । तर, विराटनगर खानेपानी संस्थानका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजना ५ प्रतिशत अगाडि छ । यो कथन केवल एक लाइनको प्राविधिक अपडेट मात्र होइन, नेपाली विकास संस्कृतिमा अपवादसमान उदाहरण हो । यदि परियोजना यो गतिमा नै अघि बढ्यो भने, २०२६ मे (२०८३ जेठ १७) को लक्ष्य कठिन होइन । ५२ लाख लिटरका ट्याङ्कीहरू ः पानी अभावको दीर्घकालीन समाधान । पाइप मात्र होइन, संग्रहण सुविधाको अभावले पनि नगरमा पानी संकट चर्काएको थियो । अहिले निर्माणाधीन चार ठूला ट्याङ्कीहरू—विराटनगर–५, देवकोटाचोक, तीनपैनी र मुनालपथ—कुल साढे ५२ लाख लिटर क्षमता बोकेका छन् ।

यिनको ६५ प्रतिशत काम पूरा भइसकेको छ । ट्याङ्की मात्र होइन, तिनलाई पानी आपूर्ति गर्नुपर्ने डिप बोरिङहरू पहिले नै तयार हुनु, योजना चरणबद्धरूपमा अघि बढेको संकेत हो । पानी आपूर्ति व्यवस्थापनमा ट्याङ्कीहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ— माग र आपूर्तिको असन्तुलन व्यवस्थापन वितरण चाप स्थिर राख्ने आकस्मिक अवस्थामा वैकल्पिक स्रोत यस अर्थमा परियोजनाले दीर्घकालीन सोच अपनाएको देखिन्छ । फायर हाइड्रेन्ट ः विपद् व्यवस्थापनको नयाँ मोड विराटनगरमा आगलागीका घटना बेला–बेला भइरहेकै छन्। तर विडम्बना—नगरभरि फायर हाइड्रेन्ट नै नहुँदा दमकलले पानी लिन धरै कठिनाइ भोग्दै आएको थियो । यो परियोजनाले ३२ स्थानमा फायर हाइड्रेन्ट जडान गर्ने योजना राखेको छ, जसको अर्थ विराटनगरको विपद् प्रतिक्रिया क्षमता गुणात्मक रूपमा सुधारिनेछ। यस्तो पूर्वाधार उपलब्ध हुनु आधुनिक शहरको आधारभूत मानक हो, जुन अब विराटनगरले पाउँदैछ ।

विकासका काम केवल तथ्य होइनन्, तिनले बदल्नेछ—सहरको भविष्य विराटनगरमा अहिले देखिएको विकासको गति केवल एक आयोजनाको कथा होइन। यो शहरले कस्तो भविष्य चाहन्छ भन्ने ठूलो प्रश्नको उत्तर पनि हो । सबै ठेकेदारहरू समयमै काम गर्दैनन्, सबै संस्थाहरू जिम्मेवार हुँदैनन्, सबै कर्मचारी समर्पित हुँदैनन—तर कतै न कतैबाट परिवर्तन सुरु हुन्छ । यो आयोजना सफल भयो भने— सार्वजनिक स्वास्थ्यमा सुधार धारासँगै सतहमा उफ्रिने पानीको समस्या अन्त्य सडकमा पानी चुहावटका कारण बिग्रिने अवस्था रोकिने उद्योग–व्यवसायलाई नियमित पानी आपूर्ति विपद् व्यवस्थापन बलियो दीर्घकालीन नगर विकासको आधार तयार यस अर्थमा यो परियोजना इन्फ्रास्ट्रक्चर मात्र होइन, शहरको आत्मविश्वास पुनःस्थापित गर्ने परियोजना पनि हो ।

तर केही प्रश्नहरू पनि उठ्छन.. सकारात्मक प्रगति देखिए पनि, प्रत्येक ठूला परियोजनामा केही जोखिम र चुनौती हुन्छन— समयमै काम सकिन्छ ? अहिले ५ प्रतिशत अगाडि देखिए पनि, अन्तिम चरणमा ढिलाइका सम्भावना सधैँ रहन्छ । घर–घरमा कनेक्सन पुर्याउँदा शुल्क, नियम र व्यवस्थापन कति सहज? कतिपयले कनेक्सन शुल्क महँगो भएको गुनासो गर्न सक्छन् । पुराना पाइप हटाउने प्रक्रियामा पानी आपूर्तिमा अस्थायी अवरोध हुन्छ कि । निगरानी र गुणस्तर परीक्षण कत्तिको कडा हुनेछ । पानी शुद्धिकरण केन्द्र र वितरण प्रणालीको दीर्घकालीन सुरक्षा अत्यन्त संवेदनशील विषय हो ।

शहरले यी प्रश्नहरूको जवाफ समयसँगै पाउनेछ । अन्तिम कुरा ः विराटनगर परिवर्तित हुँदैछ, तर नागरिकको भूमिका पनि निर्णायक छ । पानीको व्यवस्थापन कागज–कलम र सरकारी कार्यालयमै सीमित छैन । नागरिकको उपयोग, संरक्षण र सचेतना पनि उतिकै महत्त्वपूर्ण छ । अव्यवस्थित धारा जडान नगर्ने चुहावट देखेमा संस्थानलाई जानकारी दिने नयाँ पाइपलाइन जोगाउने ट्याङ्कीमा अनावश्यक फोहोर नहाल्ने पानी दुरुपयोग नगर्ने विकास योजनाले काम गरिरहेकै छ । अब विराटनगरका नागरिकले पनि शहर रूपान्तरणमा आफ्नो हिस्सेदारी देखाउनुपर्ने बेला आएको छ ।